एउटासंग मिलेर चुनाब लड्ने  र अर्कोसंग सरकार बनाउनु राजनितिक वेश्यावृत्ती हो : ज्ञवाली



पाल्पा,भदौ १८ । नेकपा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेता एउटा संग मिलेर चुनाव लड्ने र अर्को संग मिलेर सरकार बनाउने कार्यलाई राजनैतिक वेश्यावृत्तीको संज्ञा दिएका छन् ।

नेकपा एमाले तानसेन, बगनासकाली र चिदिपानीले आयोजना गरेको पालिका स्तरिय प्रशिक्षण कार्यक्रममा नेता ज्ञवालीले यस्तो बताएका हुन् । नेता ज्ञवालीले एमालेले उठाएको राष्ट्रियताको झण्डालाई गठबन्धनले जरैदेखी उखेलेको समेत बताए । ६ महिना अघि भुकम्प गएको देशमा औषधि समेतको आपुर्ती बन्दको बिडम्बना भोग्नुपरेको भन्दै नेता ज्ञवालीले नेकपा एमालेको नेतृत्व  राष्ट्रियता प्रती सधै शतिसाल भएर उभिएको बताए ।

नेता ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारतमा गएर को को प्रधानमन्त्री कहिले कहिले हुने भनेर पालो बाँड्ने छलफल गर्नु लज्जास्पद भएको बताए । देशका गृहमन्त्रीले अन्य मुलुकका राजदुतसंग सोधेर सुरक्षा प्रमुख नियुक्त गर्ने विडम्बना रहेको नेता ज्ञवालीले बताए ।

“कानुन सबैका लागि बराबर हो, व्यापारीका बिचौलियाहरु सिंहदरबार पसेर करको दायरा हेरफेर गर्ने कार्यले यहाँको उद्योग बन्द हुने अवस्थामा छन ।” नेता ज्ञवालीले भने । ” देशको अर्थतन्त्रलाई दलाल पुँजीवादीहरुको हातमा सुम्पने कार्यको ढाकछोप गर्न गठबन्धन लागिपरेको छ ।” १४ महिनामा अर्थतन्त्रका सबै सुचकहरु र विदेशी मुद्रा सञ्चिती घटेको नेता ज्ञवालीले बताए ।

“यी सबै कुराहरुले के नेपाल पनि श्रीलंकाको बाटोमा त हिँड्दै छैन ?” नेता ज्ञवालीले प्रश्न गरे । “ईतिहासमा धेरै भ्रष्टाचार भए होलान । हामीले पनि रोक्न सकेनौं होला ।” नेता ज्ञवालीले भने । “तर राज्य शक्ति नै लागेर भ्रष्टाचार प्रोत्साहन गर्ने र मिलेमतो गर्ने यो पहिलो सरकार हो ।”

नेकपा एमालेले यो निर्वाचन हार्न मिल्दैन, हार्न सक्दैन, हार्न हुँदैन ।” नेता ज्ञवालीले भने। “एउटा पार्टीलाई टार्गेट गरेर पार्टी विभाजनको अध्यादेश ल्याउनु अरु कुनै तरिकाले एमालेलाई हराउन सकिँदैन भन्ने मनस्थिती हो ।” यसले एमाले कमजोर नभई थप शक्तिशाली भएको नेता ज्ञवालीको भनाई थियो ।

संसारमा प्रतिपक्षका विरुद्ध सत्तापक्षको गठबन्धन भएको उदाहरण कहिँ पनि नभएको भन्दै यस्तो कार्य सामाजिक फाँसिवाद भएको नेता ज्ञवालीले बताए । जति धेरै दल उति धेरै अन्तरसंघर्ष हुने भन्दै गठबन्धनभित्र भागवण्डा मिलाउन उत्तिकै गाह्रो रहेको र मिले पनि जित्न गाह्रो भएको ज्ञवालीले बताए ।

सत्ताका लागि जो संग पनि मिल्ने नेपाली कांग्रेसको पछिल्लो नीतिका कारण कांग्रेसभित्रका पुराना नेताहरु भित्र असन्तुष्टी बढेको भन्दै ज्ञवालीले ती राजनैतिक संस्कारयुक्त व्यक्तीहरु संग नेकपा एमालेले सहकार्य गरेर अघि बढ्ने र त्यसको प्रतिफल मंसिर ४ को निर्वाचन पछि देखिने बताए ।

प्रतिक्रिया दिनुहोस्