यादवलाई अवसरसँगै चुनौती



काठमाडौं, भदौ १८ । मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको नाम मधेस प्रदेशका ६ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ ।

जसपाको जनाधार बलियो मानिएका प्रदेश २ का सिरहा र बाराका दुई–दुईवटा क्षेत्र तथा धनुषा र सप्तरीका एक–एक क्षेत्रबाट यादवको नाम सिफारिस भएको हो । उम्मेदवारका लागि उनको नाम प्रदेश १ को मोरङ जिल्लाबाट पनि सिफारिस भएको छ ।

जसपा कार्यकारिणी समितिका एक सदस्य भन्छन्, ‘उम्मेदवार बन्न अध्यक्ष उपेन्द्र यादवको नाम धेरै जिल्लाबाट सिफारिस भएको छ तर उहाँ चुनाव लड्ने भनेको सप्तरीको २ नम्बर क्षेत्रबाट हो ।’ उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पनि सप्तरी–२ बाट निर्वाचित भए उनले इतिहास रच्नेछन् । कारण यो क्षेत्रबाट दोहोरिएर कसैले पनि चुनाव जितेका छैनन् । २०४८ सालदेखि २०७४ सम्म भएका निर्वाचनमा कोही पनि यो क्षेत्रबाट दोहोरिएर निर्वाचित नभएकाले यादवका लागि इतिहास रच्ने सुनौलो अवसर छ ।’

तर यसपालि चुनाव जित्न उनलाई पहिलाजस्तो सहज छैन । कारण धरै छन् । पहिलाजस्तो यसपालि मधेसमा आन्दोलनको रापताप छैन । दोस्रो, जसपा नेतृत्वको मधेस प्रदेश सरकारको छवि बदनाम बनेको छ । तेस्रो, मधेस आन्दोलनका क्रममा उठेका मुद्दाको पक्षमा यादव अडिग छैनन् ।

जसपामा दुई दुईपटक भएको विभाजनले पनि मधेसीजनको मन फाटेको छ । जसको नकारात्मक असर निर्वाचनमा पर्न सक्ने आकलन राजनीतिक जानकारको छ । सप्तरीमा प्रभावशाली मानिएकी नेत्री रेणु यादवको मौनताले पनि यादवलाई सप्तरी–२ मा जित्न सहज नहुने स्थानीय बताउँछन् ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्