एक वर्ष साढे ४७ अर्बको धान, चामल आयात



काठमाडौ,भदौ १८ । नेपालले गतवर्ष ४७ अर्ब ५७ करोड रुपैयाँको धान र चामल आयात गरेको छ । त्यसैगरी, ६ अर्ब ३२ करोड ६२ लाख रुपैयाँको गहुँ, २ करोड २० लाखको जौ, १९ अर्ब ६४ करोड ९६ लाख रुपैयाँको मकै, १ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको चिउरा, ३ करोड ९९ लाख रुपैयाँको कोदो र ६६ करोड ८५ लाख रुपैयाँको अन्य खाद्यान्न आयात गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बताएको छ । यति धेरै वस्तु आयात गरेपछि नेपालले गर्ने निर्यात के हो त ? त्यसमा काम गर्नुपर्ने अहिलेको आवश्यकता हो । कुन वस्तुको आयात र कुन वस्तुको निर्यात हुन्छ भन्ने महत्त्वपूर्ण कुरा होइन, आयात र निर्यातको सन्तुलन मिल्यो वा मिलेन भन्ने चाहिँ महत्त्वपूर्ण कुरा हो । माथि उल्लेख गरिएका उदाहरणबाट पाठ सिक्दै दीर्घकालसम्म नेपालका लागि कुन वस्तु तथा सेवा निर्यात गर्दा लाभदायक हुन्छ, सोही अनुसार काम हुन आवश्यक छ । निर्यात हुने काम नगर्ने केवल आयात मात्र भइरहने हो भने यसले अन्तत: उधो गतिमा डोहोर्‍याउँछ ।

केही वर्षयता वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषण नेपालका लागि प्रमुख आय हुने गरेको छ । तर, अहिले हामीलाई चाहिएको आय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा गणना हुनुपर्ने खालको हो । विप्रेषण आय दीर्घकालीन नहुने भएकाले विदेशमा युवा पठाएर होइन कि सके तयारी उत्पादन नसके कच्चा पदार्थको निर्यात गरेर पनि आम्दानी बढाउनुपर्ने अहिलेको आवश्यकता हो । विप्रेषण आय स्वदेशी उत्पादनबाट प्राप्त नहुने भएकाले जीडीपीमा गणना हुँदैन । जबसम्म स्वदेशी उत्पादन बढेर जीडीपीको आकार ठूलो हँुदैन, तबसम्म अर्थतन्त्र सबल हुँदैन ।

आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा गएका नेपालीले १० खर्ब ७ अर्ब रुपैयाँ विप्रेषण पठाए भन्दैमा मक्ख हुने हो भने यसले दीर्घकालमा राम्रो गर्दैन । विप्रेषण आय दीर्घकालीन हुँदैन भन्ने कुरा बुझ्न आवश्यक छ, किनकि पहिलो कुरा युवा विदेश जाने बेलासम्म मात्र यस्तो आम्दानी हुने हो । त्यस्तै युवा विदेश जाँदा स्वदेशी उत्पादनलाई असर गरेको हुन्छ, जसले गर्दा स्वदेशी उत्पादन विक्री गर्ने सम्भावना हुँदैन । अनि अर्को बिर्सन नहुने कुरा गन्तव्य मुलुकमा कुनै समस्या आयो भने नेपाल भित्रिने विप्रेषण आय प्रभावित हुन्छ । धेरै नेपाली युवा रोजगारीका लागि पुग्ने गरेको खाडी मुलुक वा मलेशियामा कुनै समस्या आयो भने त्यसको असर नेपालसम्म पर्छ, जब कि त्यस्तो असरमा नेपाल वा नेपाली युवाको कुनै भूमिका हुँदैन । त्यसैले विप्रेषण आयको विकल्प खोज्नैपर्ने अहिलेको आवश्यकता हो ।

अबको बाटो
अधिकांश वस्तुमा परनिर्भर रहेको नेपाल आत्मनिर्भर हुनसक्ने सम्भावना छ वा छैन ? वर्षेनि बढ्दो व्यापारघाटा कसरी कम गर्न सकिएला ? यस्तै विषयमा गहन छलफल गर्ने उद्देश्यले आर्थिक अभियान दैनिकको सत्रौं वार्षिकोत्सवको अवसरमा ‘आत्मनिर्भर अर्थतन्त्र’ को सम्भावना, भविष्य र चुनौतीलाई केलाउने प्रयास गरिएको छ । नेपालले कुन कुन वस्तु र सेवा विक्री गरेर आम्दानी गर्ने ल्याकत राख्छ, त्यसबारे सूक्ष्म कुरा खोतल्ने हाम्रो प्रयास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्