आर्थिक अभियान १७औं वार्षिकोत्सव विशेष: सम्भव छ आत्मनिर्भर अर्थतन्त्र



काठमाडौं,भदौ १८ ।अर्थतन्त्रको अध्ययन, अनुसन्धान र बहस गर्दा धेरै प्रयोग हुने शब्दमा पर्छ– आत्मनिर्भर अर्थतन्त्र । यो मानवीय भावनासँग जोडिने भएकाले पनि चासोमा रहने गर्छ । त्यही भएर विश्वका विभिन्न मुलुक आत्मनिर्भर अर्थतन्त्रलाई जोड दिनुपर्ने ठान्छन् । नेपालमा पनि आत्मनिर्भर अर्थतन्त्रको कुरा उठिरहन्छ । खासगरी निर्वाचनका बेला वा आमसर्वसाधारणको मत आकर्षित गर्नुपर्दा आत्मनिर्भर अथर्तन्त्रको कुरा झनै बढी हुने गर्छ । आउँदै गरेको संघीय/प्रदेशको निर्वाचनमा पनि आत्मनिर्भर अर्थतन्त्र, आर्थिक उन्नति, सुखी नेपाली, समृद्ध नेपालजस्ता नारा राजनीतिक दलहरूले लगाउने नै छन् । आत्मनिर्भर अर्थतन्त्रका लागि नेपालमा के गर्न सकिन्छ भन्नेबारे उल्लेख गर्नुअघि पहिला आत्मनिर्भर अर्थतन्त्रबारे बुझ्न जरुरी हुन्छ ।

आत्मनिर्भर अर्थतन्त्र के हो ?
विश्व ‘ग्लोबल भिलेज’ का रूपमा रूपान्तरित हुँदै गएपछि यतिखेर एकको सहाराविना अर्को मुलुक चल्न नसक्ने अवस्थामा पुगेका छन् । एउटा देशले उत्पादन गरेको वस्तु अर्को देशले खरीद गरेको हुन्छ । तर, उत्पादनकर्ता मुलुकका लागि कच्चा पदार्थ उपलब्ध गराउने मुलुक अर्कै हुन सक्छ । एउटा मुलुकले ‘क’ भन्ने वस्तुको उत्पादन गरेर ‘ख’ भन्ने देशलाई बेचेर आम्दानी गर्छ भने सोही मुलुकले ‘क’ वस्तुका लागि चाहिने कच्चा पदार्थ चाहिँ ‘ख’ भन्ने देशबाटै आयात गरेको पनि हुन्छ । कुनै मुलुकले आफूलाई चाहिनेजति वस्तु आफै उत्पादन गर्छु भन्छ भने त्यो ‘अटार्की’ को अवस्थामा जाने भन्ने हो । त्यो कहिल्यै सम्भव हुँदैन । उदाहरणका लागि अमेरिकाले बनाउने ‘यूएस सोया’ कुखुराको दानालाई लिन सकिन्छ । अमेरिकाले बनाउने उक्त ब्रान्डको कुखुराको दानाका लागि ब्राजिल, अर्जेन्टिनाजस्ता मुलुकबाट भटमास आपूर्ति हुने गर्छ ।

अर्को उदाहरणका रूपमा हामी ताइवानलाई लिन सक्छौं । ताइवानले आफूलाई चाहिने अधिकांश वस्तु आयात गर्छ तर कम्प्युटरजन्य सामग्री उत्पादन गरी निर्यात गर्दा त्यसरी गरिएको आयातले कुनै अप्ठेरो पार्न सकेको छैन । कम्प्युटरका लागि प्रयोग हुने चिप्सलगायतका उपकरणको निर्यातले ताइवान आज आर्थिक रूपले मात्र सम्पन्न भएको छैन, सैनिक दृष्टिकोणले पनि बलियो मानिन्छ ।

यता नेपालतर्फको अवस्था हेर्दा यतिखेर नेपालमा वर्षेनि साढे ३ खर्ब रुपैयाँ हाराहारीको खनिज इन्धन आयात हुन्छ । नेपालमा तत्काल खनिज इन्धनको उत्पादन गर्न सम्भव छैन भन्न सकिन्छ । तर, खनिज इन्धन खरीदका लागि नेपालले अन्य वस्तुको निर्यात गर्न सक्यो भने आत्मनिर्भर अर्थतन्त्रमा निकै सहयोग पुग्छ । अहिलेको परिप्रेक्ष्यमा वस्तुको विक्री र खरीदको सन्तुलन मिलाउन सक्नु नै आत्मनिर्भर अर्थतन्त्रको परिभाषाभित्र पर्छ । नेपालमा इन्धन उत्पादनको सम्भावना छैन भने त्यसको विकल्प के त ? त्यस्ता विकल्पबारे प्रयास हुन आवश्यक छ । खनिज इन्धनको आयात कम गर्ने उपाय विद्युत् उत्पादन हो । विद्युत् उत्पादनले इन्धनको प्रतिस्थापन मात्र गर्दैन, त्यस्तो विद्युत् विक्री गरेर विदेशी मुद्रा आर्जन गर्न सकियो भने त्यो हाम्रा लागि तुलनात्मक रूपमा आत्मनिर्भरताको आधार बन्न सक्छ । यसका लागि विद्युत्को अधिकतम उपयोग कसरी हुन सक्छ ? त्यसमा नीतिगत व्यवस्थापन चाहिन्छ ।

खाद्यान्नकै कुरा गर्दा नेपालमा भन्दा विदेशमा धान सस्तो छ भने धान आयात गर्दैमा फरक पर्दैन । तर, धान आयात गरेपछि के निर्यात गर्ने हो त्यसमा योजना चाहिन्छ । विदेशबाट धान आयात हुन्छ भने नेपालबाट फलफूल, तरकारी, जडीबुटीजस्ता वस्तुको निर्यात हुनुपर्छ । अथवा औद्योगिक उत्पादन तथा सेवाहरूको निर्यात गर्नुपर्छ । यसको अर्थ आत्मनिर्भर अर्थतन्त्रलाई व्यापार सन्तुलनको दृष्टिकोणबाट हेरिनुपर्छ । मानौं, १००० रुपैयाँको मालसामान आयात हुँदा कम्तीमा त्यति नै मूल्यको सामान निर्यात गर्न सक्नुपर्छ । अमेरिकाले आफ्ना लागि चाहिने धेरै सामान चीनलगायत देशबाट आयात गरिरहेको छ, यसको मतलब अमेरिका आत्मनिर्भर छैन भन्ने होइन ।

अमेरिकाले आयातित वस्तुको भुक्तानीका लागि अन्य स्रोतको जोहो गरेको हुन्छ । प्रतिस्पर्धी लागत र गुणस्तरीय उत्पादन आत्मनिर्भर अर्थतन्त्रका लागि आधार हुन्छन् भन्ने बुझाइ हुनुपर्छ । निर्यातका लागि त्यस्तो वस्तुको उत्पादन आवश्यक हुन्छ, जसको माग संसारभरि नै होस् । आयात गर्ने देशका नागरिकको आम्दानीमा गिरावट आए पनि निर्यात गर्ने वस्तुको माग घटेन भने त्यसले आत्मनिर्भर अर्थतन्त्रमा सहयोग गर्छ । निर्यात गर्ने वस्तुको मूल्य बढे पनि आयातकर्ताबीच माग घट्दैन भने त्यसलाई अर्थशास्त्रको भाषामा मागको आय लचकता र मूल्य लचकता भनिन्छ । आत्मनिर्भर अर्थतन्त्रको राम्रो अभ्यास भइरहेको अर्को मुलुक मकाउ पनि हो । मकाउले आफूलाई चाहिने धेरैजसो वस्तु आयात गरे पनि पर्यटन खासगरी क्यासिनोको विकास गरेर संसारका धनाढ्यलाई आफ्नो मुलुकमा आकर्षित गरी मनग्यै आम्दानी गरिरहेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्