भन्सार छलेको ७० करोडको सामान नियन्त्रणमा
वीरगञ्ज,भदौ १६ । सशस्त्र प्रहरीले मधेश प्रदेशका ८ जिल्लाबाट बितेको एक वर्षमा ७० करोड रुपैयाँभन्दा बढीको अवैध सामान नियन्त्रण लिएर कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ ।
सशस्त्र प्रहरीले प्रदेशका विभिन्न स्थानबाट गत २०७८ भदौदेखि यसपालि भदौ १० गतेसम्म अवैध रूपमा भित्रिएका ७० करोड ५७ लाख रुपैयाँबराबरको सामान नियन्त्रणमा लिएको हो ।
मधेश प्रदेशका ८ जिल्लाका सीमावर्ती क्षेत्रबाट ती मालसामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरले जानकारी दिए । भन्सार छलेर भित्रिएका र प्रतिबन्धित वस्तु नियन्त्रणकै लागि खटिएका सशस्त्र प्रहरीले समातेको सामान कारबाहीका लागि भन्सार कार्यालयहरूमा बुझाएको डीआईजी मगरले बताए ।
मधेशका आठै जिल्लाको सिमाना भारतसित जोडिएको छ । यो प्रदेशलाई भन्सार छली र अनधिकृत ओसारपसारका दृष्टिले बढी संवेदनशील मानिन्छ ।
सुरक्षा र अनधिकृत व्यापारको संवेदनशीलतालाई ध्यानमा राखेर सीमामा उच्च सतर्कता अपनाउँदै आएको सशस्त्र प्रहरीले बताएको छ । चौपायाको अवैध ओसारपसार र लागू औषध नियन्त्रणमा सशस्त्र प्रहरी खटिएको छ । त्यस्तै विदेशी मुद्राको अनधिकृत ओसारपसार, मानव बेचबिखनलगायतका अपराध नियन्त्रणका काम भएको सशस्त्र प्रहरी बलले बताएको छ ।
सशस्त्रले बितेको एक वर्षमा डेढ करोड रुपैयाँभन्दा बढीको चौपाया नियन्त्रणमा लिएको छ । अवैध रुपमा भित्र्याइएका १ करोड ५८ लाख रुपैयाँ अनुमानित मूल्यका चौपायासमेत भन्सारमा पठाएको सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीले बताएको छ ।
सशस्त्रले एक वर्षमा स्रोत नखुलेको २२ लाख ६० हजार भारतीय रुपयाँ र ३ करोड ७ लाख नेपाली रुपैयाँ पनि बरामद गरको छ । १९ लाख ४१ हजार नक्क्ली नेपाली मुद्रा र ९८ हजार ५६० यस्तो भारतीय मुद्रा फेला परेको डीआईजी मगरले बताए ।