एमालेले प्रचण्ड र माधव नेपालसँग मिलेर चुनावमा जाने सम्भावना खारेज भइसक्यो : सूर्य थापा
काठमाडाैं,भदौ १३ । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले नेकपा एमालेले प्रचण्ड र माधव नेपालसँग मिलेर चुनावमा जाने सम्भावना खारेज भइसकेको बताएका छन् ।
सोमवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै थापाले कांग्रेससँग बार्गेनिङ गर्न प्रचण्ड र माधव नेपालले एमालेसँग मिल्ने धम्की दिइरहेकोमा त्यो सर्वथा गलत भएको बताए ।
उनले लेखेका छन्, ‘नेकपा एमाले केन्द्रीय कमिटीले प्रचण्ड र माधव नेपालका समूहसँग आम निर्वाचनमा मिलेर जाने सम्भावनालाई खारेज गरेको छ । यी २ गुटले कांग्रेससँग सिटको बार्गेनिङ गर्न एमालेसँग मिल्ने धम्की दिइरहेको कर्कश स्वर सुनिन्छ, जो सर्वथा मिथ्या र जालझेल मात्रै हो । तरबार लिएर काट्न हिँडेकाहरूसँग एमालेजनहरूद्वारा मित लगाउन सकिँदैन ।’