दशकौंपछि फेरि फेसनमा आए यी आधा दर्जन गरगहना, जो सस्तो र सरल छन्
काठमाडौं,भदौ ११ । हिन्दु नारीहरूको महान चाड तिज नजिकिँदै गर्दा सुन पसलहरूमा गरगहना किन्नेहरूको भीडभाड देखिन थालेको छ ।
काठमाडौंका मुख्य बजार असन, इन्द्रचोक, न्यूरोड, कलंकी, कालिमाटी, बानेश्वर लगायतका क्षेत्रमा सञ्चालित सुनपसलहरूमा यतिबेला महिलाहरू नयाँ नयाँ डिजाईनका गहना खोज्दै पुगिरहेका छन् । तर यतिबेला गहना खोज्न जाने महिला दिदी बहिनीहरूले नयाँ होइन पुराना डिजाइनका गहना खोजीरहेका छन् ।
कुनै समय गहना भनेकै तिलहरी र नौगेडी मात्रै देखेका हजुरआमाहरू अहिले तिनै गहना नातीनी पुस्ताले लगाएको देख्दा दंग परिरहेका छन् । यसो त प्राय महिलाले तिज, दशैं जस्ता चाडमा गरगहना खरीद गर्न रुचाउँछन् । न्यूरोडको एक ज्वेलर्समा भेटिएकी धादिङकी प्रभा थापाले तीजकै लागि भनेर रानीहार खरीद गरिन् ।अरुले लगाएको देख्दा आफूलाई पनि रानीहार लगाउने रहर भएपनि त्यो रहर बल्ल पूरा भएको उनले बताइन् । ‘पहिले नै बनाउन मन थियो, तिजमा केही नयाँ डिजाईन आउँछकी भनेर कुरीरहेकी थिएँ, आज किने ।’ उनले भनिन् ।
यस्तै काठमाडौं बलाजुकी सावित्री थापा कालीमाटीका सुन पसलमा चोकर हार रोज्दै गरेकी भेटिइन् । उनले आफूले वर्षौंदेखि लगाइरहेको हारमाथि पैसा थपेर चोकर बनाउने निधो गरेकी थिइन् । ‘यो हार मेरो विहेको हो, अहिले धेरैनै पुरानो भइसक्यो, यसलाई मासेर नयाँ डिजाईनको चोकर बनाउन लागेकी हूँ । थोरै पैसा थप्दा नयाँ डिजाईन अनि राम्रो देखिन्छ भने कति पुरानो गहना लगाउने,’ उनले अभियानसँग भनिन् । ‘मलाई त गरगहना नजोडी तिज आए जस्तै हुँदैन’ बानेश्वरको एक सुन पसलमा भेटिएकी पूजा श्रेष्ठ भन्छिन् ‘गएको दुई वर्ष कोरोनाले खासै केही किन्न पाइएन, तर यस पटक भने नौगेडी किने।’
उनीहरुत एक प्रतिनीधी उपभोक्ता मात्रै हुन । अहिले सुनपसलमा भेटिने अधिकांस महिलाको रोजाइमा फेजआउट भइसकेका गहनाहरू परेको देखिन्छ । तिलहरी, नौगेडी, मंगलसुत्र लगायतका गहनाहरूमा सामान्य परिवर्तन गरेर उनीहरूले चाडवाडको लागि अर्डर गरिरहेका छन् ।
तिजलाई नै लक्षित गरी तयार पारिएका सुनका विभिन्न डिजाईनका गहना किन्नका लागि पुगेका महिलाले रानी हार, नौगेडी तिलहरी, चोकर, मङ्गलसुत्र, सानो हार जस्ता परमपरागत गहनामा बढी रुचि राख्ने गरेको व्यपारीहरूको अनुभव रहेको छ ।
अहिले तिजलाई भनेर कुनै नयाँ डिजाईन नआएको तर केही पहिलेइ आएको रानी हार, नौगेडी, तिलहरी, चोकर, मङ्गलसुत्र, सानो हार लगायतका परमपरागत गहना नै ग्राहकलाई मन परिरहेको रिद्धिशिद्दी ज्वेलर्सका स्टाफ राजन अधिकारीले बताए । पहिला पहिला महिलाहरू सुन किन्न चाडपर्व नै कुर्ने गरेको भए पनि आजकल नयाँ डिजाईन आए खरीद गरिहाल्ने गरेको उनले बताए।
‘पछिल्लो समय मूल्य पनि बढी भएर होला अहिले त्यति धेरै विक्री छैन । पहिले पहिले चाडपर्वहरूमा निकै भीड हुन्थ्यो । अहिलेको भीड त सामान्य हो ।’ उनले भने । डिजाईन अनुसार गहना बनाउँदै आएका छौ । तर चाड पर्वलाई नै भनेर चाहिँ अहिले नयाँ डिजाइन आएका छैनन् । उनका अनुसार पुरानो गहना विक्री गर्ने ग्राहक र पुरानो सँग नयाँ डिजाईनका गहना साट्ने बढी आउने गरेको छन् । आर्थिक अभियानबाट