ग्रेडबृद्धिको परीक्षा भोली र पर्सी, नुवाकोटमा तोकियो निम्न स्थानमा परीक्षा केन्द्र



नुवाकोट,भदौ १० । शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले विसं २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडबृद्धिको परीक्षा केन्द्र र केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरेको छ ।

भोली र पर्सी भदौ ११ र १२ गते सञ्चालन हुने ग्रेडबृद्धिको परीक्षाको लागि ४ वटा परीक्षा केन्द्र तोकेको छ । ग्रेडबृद्धि परीक्षामा जिल्लाभरबाट १ हजार ४ सय ६४ जना परीक्षार्थी सहभागी हुदै छन् ।  शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय त्रिशुली बजार, भैरुम माध्यमिक विद्यालय हात्तिगौंडा, पृथ्वी माध्यमिक विद्यालय विदुर र च्वाडी पब्लिक माध्यमिक विद्यालय माझीटारलाई परीक्षा केन्द्र तोकेको छ । 

त्यस मध्ये  त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयबाट २२ वटा विद्यालयका ३ सय ६२ जना,  भैरुम माध्यमिक विद्यालयबाट २७ विद्यालयका ३ सय ६२, पृथ्वी माध्यमिक विद्यालयबाट २४ विद्यालयका ३ सय ४६ र च्वाडी पब्लिक माध्यमिक विद्यालयबाट ४४ विद्यालयका ३ सय ४८ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को  ग्रेडबृद्धिको परीक्षामा सहभागीता जनाउदैछन् ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा अन्तिम ग्रेड ‘सि’ वा ‘सि’ भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडबृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार नुवाकोटका ३ सय २५ जनाले एक विषयमा र १ हजार १ सय ३९ जनाले २ विषयमा ग्रेड बृद्धिको लागि परीक्षा दिदैछन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडबृद्धिको परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्