नुवाकोटको कुम्भेश्वर माध्यमिक विद्यालय प्रविधिमैत्री शिक्षामा फड्को मार्दै



नुवाकोट,भदौ ८ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ गेरुवा गाउँको सामुदायिक विद्यालय कुम्भेश्वर माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरमा प्रविधिमैत्री फड्को मारेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने अभियान सञ्चालन गरेपछि विद्यालयको गुणस्तर र प्रविधिमा सुधार आएको हो ।

शिवपुरी गाउँपालिकाले प्रविधिमैत्री शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर पछिल्लो वर्षदेखि नै काम गर्दै आएको थियोे । सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने र अङ्ग्रेजी माध्यमको पठनपाठनलाई विशेष ध्यान दिएपछि यस विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या समेत वृद्धि भैरहेको विद्यालयका प्रधानाध्यापक माधब ठकुरीले बताए ।

प्रविधिको साथ पाएसंगै हाल कक्षा ६,७ र ८ मा अनिवार्य कम्प्युटर शिक्षा पढाइ भैरहेको छ । आइसीटी कार्यक्रम अन्तर्गत शैक्षिक सुधारका प्रयास र गाउँपालिका बाट प्राप्त रकमबाट कम्प्युटर खरिद गरि प्रविधिलाई अगाडि बढाइएको विद्यालयले जनाएको छ । धुलोरहित र प्रविधिमा विद्यालयलाई जोड्नका लागि पालिकाले विभिन्न सामुदायिक विद्यालयलाई कम्प्युटर, प्रिन्टर ई–प्यानल बोर्डलगायतका सामग्री यसअघि नै हस्तान्तरण गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्