झोर महाङ्काल विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः दिलबहादुर तामाङ
काठमाडौ, भदौ ७ । टोखा नगरपालिका वडा नम्बर १ मा रहेको झोर महाङ्काल विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः दिलबहादुर तामाङ चुनिएका छन् ।
हालै विद्यालयमा भएको अभिभावकको भेलाले तामाङलाई पुनः अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा दिपेन्द्र लामिछाने, सुनिता रानामगर, विश्वलाल विश्वकर्मा, रुपक तिवारी, पदेन सदस्य रामेश्वर बिडारी, सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धिताल रहेका छन् ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिको गत कार्यकालको स्थानीय राजनीतिकर्मी, विद्यालयका शुभेच्छुकले खुलेर प्रसंशा गरेका थिए ।
उता वडा नम्बर १ झोरमा अवस्थित अर्को सामुदायिक विद्यालय बौडेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्माण कार्य भने अनिश्चित बनेको छ । व्यवस्थापन समितिको अध्यक्ष पदका आकांक्षीहरु बीच एक मत हुन नसक्दा विद्यालयले अध्यक्ष पाउन नसकेको हो ।
पटकपटकको छलफलले समेत अध्यक्ष चुन्न नसकेपछि हालै निर्वाचित वडा नम्बर १ का अध्यक्ष रमेशकुमार लामिछानेले कामकाज चलाउने बुझिएको छ। अभिभावकले भने ब्यक्ति र दलबीच विद्यालय जस्तो गरिमामय क्षेत्र फस्नु दु:खद भएको प्रतिक्रिया दिएका छन् ।