शेयर धितो कर्जा : ठूला ऋणीबाट घटाएर सानालाई प्रोत्साहन
काठमाडौं,भदौ ६ । बैंक तथा वित्तीय संस्थाहरूले सानो आकारको शेयर धितो कर्जालाई प्राथमिकता दिन थालेका छन् । एकै व्यक्तिले धेरै कर्जा लिएर शेयरबजारमा लगानी गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यवस्था गरेपछि ससानो कर्जामा बैंकहरूको लगानी बढ्न थालेको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले २०७८ असारमा १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेकोमा २०७९ असारमा २५ अर्ब ७७ करोड रुपैयाँले कमी आई ८० अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ । समग्रमा शेयर धितो कर्जा घटे पनि सानो आकारको कर्जा भने वृद्धि भएको छ ।
बैंकहरूले २०७८ असारमा २५ लाख रुपैयाँभन्दा कम ऋण लिनेलाई ७ अर्ब ३७ करोड रुपैयाँ प्रवाह गरेकोमा १ वर्षमा बढेर ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यस्तै २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा २०७८ असारको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँले बढेर १५ अर्ब २० करोड रुपैयाँ पुगेको छ । १ करोड रुपैयाँभन्दा बढीको शेयर धितो कर्जा भने २६ अर्ब ९६ करोड रुपैयाँ र ५० लाखदेखि १ करोडसम्मको कर्जा १४ अर्ब ५५ करोड रुपैयाँले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
२०७८ असारको तुलनामा २०७९ असारमा समग्र शेयर धितो कर्जा २४ दशमलव ३ प्रतिशतले घट्दा १ करोड रुपैयाँभन्दा बढीको कर्जा ३६ दशमलव ७ प्रतिशतले र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १२ दशमलव १ प्रतिशतले घटेको छ । तर, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १३ दशमलव ८ प्रतिशत र २५ लाख रुपैयाँभन्दा कमको कर्जा १० दशमलव ८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
मार्जिन प्रकृतिको कर्जामा जोखिम न्यूनीकरण गर्न र साना लगानीकर्ताको पहुँच बढाउन भन्दै राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा पहिलोपटक शेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा तोक्ने घोषणा गरेको थियो । यसअनुसार निर्देशन जारी गर्दै एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन सक्ने व्यवस्था गरेको थियो । त्यसैगरी निर्देशनअघि सीमाभन्दा बढी कर्जा प्रवाह भएमा क्रमिक रूपले घटाउँदै कर्जाको भुक्तानी अवधि वा १ वर्षमध्ये जुन पहिले हुन्छ उक्त अवधिभित्र सीमाभित्र ल्याउन भनिएको थियो ।
सीमा तोकेसँगै शेयर लगानीकर्ताले गभर्नरविरुद्ध आन्दोलनसमेत गरेका थिए । उक्त सीमा हटाउन अर्थ मन्त्रालय र संसदीय समितिमार्फत समेत लगानीकर्ताले लबिङ गरेका थिए ।
शेयर धितो कर्जाको एकल ग्राहक सीमा हटाउन चौतर्फी दबाब बढेपछि राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा थोरै सहुलियत दिए पनि सीमा भने यथावत् राखेको छ । मौद्रिक नीतिको व्यवस्थाअनुसार राष्ट्र बैंकले गत साउन १८ गते निर्देशन जारी गर्दै शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १२ करोड कायम गर्दै यसअघि कायम गरिएको अधिकतम चारओटा वित्तीय संस्थाबाट मात्र ऋण लिन सकिने प्रावधान हटाएको छ ।
निर्देशनअनुसार बैंक, वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकीन गरेर मात्र कर्जा दिनुपर्ने र तोकिएको सीमा नाघी कर्जा प्रवाह भएमा शतप्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने व्यवस्था गरेको छ ।
शेयर धितोमा ठूलो लगानीलाई निरुत्साहित गर्न राष्ट्र बैंकले कर्जाको जोखिमभारको व्यवस्था पनि परिवर्तन गरेको छ । गतवर्ष शेयर धितो कर्जामा जोखिमभार १५० प्रतिशत पुर्याएको राष्ट्र बैंकले २५ लाख रुपैयाँभन्दा कमको कर्जामा भने १०० प्रतिशत मात्र जोखिमभार तोकेको छ ।