नुवाकोट थानापतिका किसानले पाए १६ किलो मल
नुवाकोट,भदौ ४ । गाउँघरमा आजभोलि निकै ठिट लाग्दा घटना घटेको देखिन्छन् । वर्षभरी पुग्ने जोहोका लागि किसानले लगाएको धानखेती मल नपाएर पहेँलिन थालेका छन् । सरकारले नसकेको मल व्यवस्थापन एउटा सामान्य किसानले सक्ने कुरा भएन। हुँदै हुँदैन पनि ।
त्यसो त गाउँघरमा रहेका नेता तथा जनप्रतिनिधिलाई समेत गुहार माग्न कन्जुस्याइँ गरेका होइनन् किसानले । जति कराएपनि रुन मात्र नसकेका किसानका उदेकलाग्दो अनुहारलाई जनप्रतिनिधिले न सान्त्वना नै दियो । न सहानुभूतिका एक शब्द नै । बरु गाउँमा पहिरो गएको तस्वीरको पोज मिलाई मिलाई खिचेको तस्बिरले कति बेला दुखी किसानको उपहास हुने हो किसानलाई पत्तो हुन्न।
शनिबार यस्तै दृश्य देखियो नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा । मन्दिर पुग्न लागेको दर्शनार्थी झैं किसान मलको पर्खाइमा उत्साही थिए । किसानको आशा क्षणभरमै टुट्यो जबकी एक किसानले १६ केजी मल मात्रै पाउने जानकारी पाए । झण्डै ८ सय घर रहेको शिवपुरी गाउँपालिका वडा नम्बर ८ लाई धानखेतीको भूगोल समेत मानिदै आएको छ ।
जिल्ला आपूर्ति विभागले वडा नम्बर ८ का तीन सहकारीलाई कोटाको आधारमा मल दिइएको थानापतिका नमूना कृषक राम पुडासैनीले बताए । वडाको जागरुक कृषि सहकारी, थानापति महिला सहकारी र हिमशिखर बहुउद्देश्यीय सहकारीले कोटाका आधारमा प्राप्त गरेको मल शनिबार वितरण गरिएको थियोे । प्राप्त सय बोरा मलमा हाललाई प्रति तीन किसान घरका आधारमा १ बोरा दिइएको छ । प्रति किसान १६ केजी मल पाएका किसानका उदास चेहराले एकाअर्कालाई भावुक बनाएको थानापतिका युवा जनकराज थपलियाले साझापथलाई बताए ।
त्यसो त चुनाव नजिकिदै गर्दा भिरपाखामा गएको पहिरोको तस्बिर सामाजिक संजालमा राख्दै किसानमुखी जनप्रतिनिधि ठहरिएकालाई जनताले गुण तिर्ने प्रतिक्रिया किसानहरुले दिएका छन् ।