चार सय विद्यार्थी चिसो भुइँमा बसेर पढ्न बाध्य
बारा,भदौ ४ । प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् ।बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्वक हुन्छ । तर, बाराको आदर्श कोटवाल गाँउपालिका-५ मा रहेको नेरा आधारभुत टेढाकट्टी विद्यालयको उचित व्यवस्थापन नहुँदा बालबालिका चिसो भुइँमा पँलेटी कसेर पढ्न बाध्य छन् । झन् ‘दैलो सरकार’ (स्थानिय सरकार)ले पनि यस्ताे समस्या बेवास्ता गर्दा तत्काल सुधार हुने छाँटकाँट देखिँदैन ।
बाराको आदर्श कोटवाल गाउँपालिका-५ मा रहेको यस आधारभुत विद्यालयको अवस्था निकै नाजुक छ । पटक पटक स्थानीय सरकारलाई सहयोगकाे लागि आग्रह गरे पनि प्रथामिकतामा नपरेकाे स्थानीयकाे भनाइ छ । तीन वर्षअघि गाँउपालिकाले नयाँ भवन बनाउने भन्दै पुरानो पाँच कोठे भवनमा सुधारका लागि थप लगानी भएकाे छैन । यही कारण बालबालिकाहरू जिर्ण विद्यालय भवनकाे चौर, बरन्डाको चिसो भुइँमा बसेर पढ्न वाध्य छन् । यसरी पढ्दा बालबालिकाकाे स्वास्थ्यमा निकै नराम्रो असर परिरहेको विद्यालयका प्रधानाध्यापक सारदा सिंहले गुनासो गरिन् । १ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा करिब चार सय विद्यार्थी छन् ।
विद्यार्थी राखेर पढाउन कक्षाकाेठा अपुग भएपछि विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थीहरूलाई एउटैमा राखेर बहुकक्षा सञ्चालन गर्दै आइरहेको छ । जसले विद्यालयको पढाइ केवल औपचारिकतामा सिमित छ । विशेषगरी दलित, गरिब तथा पिछडिएका समुदायका बालबालिका पढ्ने भएर पनि जनप्रतिनिधिले यस विद्यालयलाई बेवास्ता गरेको हुन सक्ने स्थानीयको आरोप छ । हुने, खाने र सम्पन्न परिवारका बालबालिका सहरी क्षेत्रका र निजी विद्यालयमा पढाउने गरेकाले स्थानीय हुने खाने परिवारकाे नजरमा समेत याे विद्यालय परेकाे छैन् ।साेही कारण विद्यालयमा अहिले शैक्षिक गुणस्तर पनि खस्किरहेको पूर्व विद्यार्थीहरुको अनुभव छ ।