फोहोरले अस्तव्यस्त गोकुलेश्वर



दार्चुला,साउन ३१ । दार्चुलाको सुन्दर गोकुलेश्वर हिजोआज फोहोरै फोहोरको बजार जस्तो लाग्छ । चोक,गल्ली जता हिँड्यो, सडक वरिपरि फोहोरको डंगुर छ । अझ त्यसैमाथी यो बर्षाको समय। बाटैभरी फोहोर असरल्ल देखिन्छ, फोहोरले सडक आधा ढाकिसक्दा पनि अहँ कसैलाई मतलब छैन। फोहोरको थुप्रोले जनस्वास्थ्यलाई जोखिममा पार्नुका साथै गोकुलेश्वरको सभ्यताको खिल्ली उडाइरहेको भान हुन्छ। घरघरबाट निस्केर फोहोरका थैलामैलाहरू खोलामा मिल्काईन्छ। ढलहरू सिधै चमेलिया नदिमा मिसिन्छन् । प्लास्टिकको आतंक यति छ कि सडक, नदी किनारा, घर–स्कुल–कार्यालयहरूमा प्लास्टिकजन्य खोलबाहेक अरु केही देखिन्न । अरबपति,लखपति व्यापारीहरूका जंक फुडदेखि हर बोत्तल–खोलहरूले गोकुलेश्वर बजार छोपिएको छ ।

प्लास्टिकको अत्यधिक प्रयोग र जथाभावी विसर्जनका दुष्परिणामबाट हामी कोही सचेत छैनौँ । जिल्लाकैै पवित्र चरणावर्ती मानिने चमेलिया नदी फोहोरको डंगुर बोक्न बाध्य छ् । नदीलाई ‘पुज्ने’ देशमा नदीको यो हालत कसरी छ ? नदी ‘ईश्वर हुन् ’ भनेर भन्न हामीलाई लाज लाग्दैन ? सुन्दर सांस्कृतिक गोकुलेश्वर बजार अचेल अस्तव्यस्त छ। फोहोरले कुरुप बन्दै गएको छ। सामान्य नागरिक देखि मै हुँ भन्ने ठुलाबडालाई फोहोरको संस्कृतिले गिज्याइरहेको छ । जसरी आफूलाई फोहोर गनाउँछ, हामी सोच्दैनौँ अर्काेलाई पनि उसरी नै गनाउँछ । घरभित्रै व्यवस्थापन गर्न सकिने फोहोर पनि हामीलाई बाटोमा नथुपारी खाएको पच्दैन । प्लास्टिक प्रयोग गर्दिनँ भनेर बसेका सचेत नागरिकले फोहोर थुपार्नै भए पनि प्लास्टिकका झोला किन्नुपरेको छ ।

फोहोर कसले ल्याएर यहाँ फाल्छ भन्ने थाहा छैन, यो फोहोर कहिले उठ्छ भन्ने पनि थाहा छैन। न जनतामा सडकमा फोहोर फाल्नु हुन्न भन्ने चेतना छ, न नगरपालिकालाई जनताले भोग्नु परेको सास्तीबारे मतलब छ ।’फोहोर नै विस्तरा, फोहोर नै डसना जस्तै छ। गोकुलेश्वर बजार दुर्गन्धित हुने अवस्था आउँदा पनि नगरले वैकिल्पक व्यवस्था गर्न नसक्नु लाजमर्दो भएको छ । यति हुँदा पनि गोकुलेश्वरका बासिन्दा भनेर भन्न लाज लागिरहेको छैन ? अनि यही बजारका शत प्रतिशत मान्छे आफूलाई सभ्य, सुसंस्कृत ठान्छन् । कसैले चकलेट खाएर खोल खल्तीमा हाल्यो भने त हाँस्ने नागरिक कसरी पढेलेखेको ? कसरी शिक्षित ? कसरी चेतनशील भए ? जथाभावी पिच्चपिच्च थुक्ने, खकार्ने, मुत्ने, हग्ने, फोहोर खसाल्नेले अनि उहाँहरु नै विदेशमा यस्तो उस्तो भयङ्कर राम्रो सिस्टम हुन्छ भनेर गफ दिइरहेका छन् । अनि उहाँनै भन्छन् – सबले फोहोर फालेका छन्, तँ÷म एकजनाले फोहोर नफालेर सहर कसरी सफा हुन्छ ?

बजारमा जसको ठूलो कम्पाउन्ड छ, उसले फोहोर त्यहीँ गाडेर सजिलै व्यवस्थापन गर्न पनि सक्छ । तर, सबैभन्दा धेरै फोहोर तिनै धनाढ्यहरूका घरबाट निस्किरहेको छ । ठूलाठूला घर,पशल बनाउन सक्नेले त्यहीँ केही फोहोर व्यवस्थापन गर्न सकिने उपाय सोच्न सकेको छैन् । महँगा गाडी चढ्नेले झ्याल खोलेर फ्याँकेको मिनरल वाटरका बोतल,कुरकुरेको प्याकेट लगायत अन्य बजारमा पाईने खानेकुराका प्याकेटहरु सडकमै सानदारसात फाल्छन् । यहाँ मेयर, अध्यक्ष, सदस्यजस्ता टाउकेहरूको कमी छैन । तर, फोहोरको जिम्मा मेयरको मात्र होइन नि । मेयरको पहिलो कर्तव्य हो तर उसलाई सघाउनु सबैको दायित्व मात्र होइन, कर्तव्य पनि हो । मेयरले पनि आफ्नो स्पष्ट योजना, भोगेको समस्याबारे सबैलाई स्पष्ट पार्नुपर्ने अनिवार्य छ । एउटा वडासदस्यदेखि वडा अध्यक्षसम्मले मेयरलाई मात्र औँला देखाउने हो भने उनीहरू पदमा बसेको किन हो ? फोहोर ब्यबस्थापनमा स्थानिय बासिन्दा देखि स्थानिय सरकार सबैको चासो र सरोकार हुनुपर्छ।

फोहोरले हुने जल प्रदूषण, वायु प्रदूषण, माटो प्रदूषण र तिनले सिर्जना गर्ने रोगहरूको पीडाबारे हामी कहिले बुझ्छौँ ? फोहोर कसरी व्यवस्थापन गर्ने भन्नेबारे घरघरमा छलफल हुनुपर्छ । वडा सदस्यदेखि मेयरसम्मले आफ्नो क्षेत्रे सफाइबारे चिन्ता लिनुपर्छ । चिन्ता मात्र होइन जिम्मा लिनुपर्छ । हैन भने राजीनामा दिनुपर्छ । प्रतिनिधि र कर्मचारीहरूले काम गरेनन्, भने यहाँका नागरिकदेखि सरकारबाहिरका दलसम्मले सचेतना–विरोधका कार्यक्रम गर्नुपर्छ । नागरिक चुप बस्ने भएर पनि शासकहरू मैमत्त भएका हुन् । उनीहरूलाई हामीले जे गरे पनि नागरिकले सहिदिन्छन् भन्ने बानी परेको छ ।

फोहोर यसरी थुप्रिँदा पनि चुप बस्ने हामी नागरिक, कस्ता नागरिक ? घरमै चर्पी अनिवार्य भए जसरी फोहोर व्यवस्थापनका उपायहरू अनिवार्य बनाउनुपर्छ। जसको घर छैन, जग्गा छैन उसका लागि सामुदायिक तहमा व्यवस्था हुनुपर्छ । तत्कालका लागि फोहोर उठ्नुपर्छ । फोहोरमा फोहोरी राजनीति गरिरहेका पदीय ढ्याकेहरूको अनुहार स्पष्ट चिन्नु र चिनाउनुपर्छ । फोहोर उठ्न नदिने दलका कार्यालय र ती नेताका घरघरमा फोहोरका पोलिथिन उपहार लिएर जान पनि ढिला गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्