काठमाडौंमा गाईजात्राकाे राैनक, पिठ्युमाथि बाच्छाे बाेकेर घुमाइँदै



काठमाडौं,साउन २८ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा शुक्रवारबाट गाईजात्रा पर्व शुरू भएकाे छ । काठमाडौं उपत्यका तथा देशभरका विभिन्न भागमा बस्ने नेवार समुदायले प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन यो पर्व मनाउने गरेका छन् । 

पर्वका अवसरमा शुक्रवार काठमाडौंको हनुमानढोका नजिकै एक व्यक्ति गाईकाे बाच्छाेलाई पिठ्युमा बोकेर घुमाइरहेका थिए । श्रद्धालुले उक्त गाईको पूजासमेत गरेका थिए । 

यस दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराइन्छ । यसरी गाईका रूपमा सिंगारिएकालाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्छन् । 

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

गाईजात्रा कहिलेदेखि शुरू भयो भन्ने विषयमा भने जानकारहरू विभाजित छन् । एकथरीले राजा प्रताप मल्लको पालामा यो पर्व शुरू भएको दाबी गर्छन् । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई देखाउन जनतालाई आ–आफ्नो घरका मृत्युवरण गरेका व्यक्तिका नाममा हरेक वर्ष गाईजात्रा निकाल्ने आदेश दिएपछि पर्व शुरू भएको उनीहरूकाे दाबी छ । 

अर्काेथरीले भने राजा प्रताप मल्लभन्दा ३०० वर्षअघि नै यो पर्व शुरू भएको दाबी गर्छन् । 

प्रतिक्रिया दिनुहोस्