एकैपटक १८ पुरुषसँग डेटिङ, नक्कली बिहे गर्दै लाखौँ ठगी
काठमाडौँ,साउन २६ । आफ्नो विलासितापूर्ण जीवनका आवश्यकताहरू पूरा गर्ने उद्देश्यले चीनकी एकजना विवाहित महिलाले सन् २०१७ यता झण्डै २० जना पुरुषबाट २० लाख युआन ठगेको रहस्य खुलेको छ ।
वु नाम गरेकी २९ वर्षीया ती महिलाले सन् २०१७ देखि पीडित पुरुषहरूलाई नक्कली विवाह सम्झौताको लोभ देखाउँदै ठग्दै आएकी थिइन् ।
सांघाइ टेलिभिजनले ती महिलाले एकै पटक १८ जना पुरुषसँग डेटिङ गर्ने दुस्साहस समेत गरेको जनाएको छ ।
वुले ती सम्पूर्ण पुरुषलाई आफ्नो प्रेम सच्चा भएको भन्दै मख्ख पारेर नक्कली सम्बन्ध कायम गर्दै आएकी थिइन् । उनले उनीहरूसँग विवाहपूर्वका तस्बिर खिचाउने गरेको र ती सबै पुरुषले उनलाई सधैँ ‘पत्नी’ भनेरै सम्बोधन गर्ने गरेको बुझिएको छ ।
आफ्नो फन्दा परेका पुरुषहरूसँग उनले परिवारका सदस्यहरूलाई मद्दत गर्नुपर्ने भन्दै पैसा माग्ने गरेकी थिइन् । नक्कली विवाह गर्नासाथ उनले उनीहरूसँग आफ्नो पिता क्यान्सर पीडित भएको, काकाको छोरालाई जमानत दिएर जेलबाट छुटाउन परेको र आफ्नै भाइलाई घर किन्न पैसाको खाँचो भएको बहाना गर्दै ठग्ने गरेकी थिइन् ।
केही पीडित पुरषले ऋण खोजेर भएपनि उनलाई पैसा दिने गरेका थिए । कुनै पुरुषले उनको आनीबानी देखेर शंका गरी ‘प्रहरीलाई खबर गर्छु’ भनी धम्क्याए नयाँ प्रेमीबाट पैसा लिएर खतराको घन्टी बजाउन खोज्नेलाई पैसा दिएर उनीहरूको मुख थुन्ने पनि गरेकी थिइन् ।
तर, अन्ततः यस्तै पैसाको मामिलामा शंका लागेपछि उनको एकजना प्रेमीले उनलाई प्रहरीको फन्दामा पारिदिएका हुन् ।
सांघाइ प्रहरीकाअनुसार सन् २०१४ मै विवाह गरेर एक बच्चाकी आमासमेत रहेकी उनी आफ्नो सक्कली पतिसँग एउटा भाडाको घरमा बस्दै आएकी छन् । उनले अरुलाई भने आफू फेशन मोडेलको रूपमा काम गर्ने गरेको बताउँदै आएकी थिइन् ।