तनहुँमा जनप्रतिनिधिले बुझाएनन् चुनावी खर्चको विवरण



तनहुँ,साउन १५ । स्थानीय तहको निर्वाचन, २०७९ मा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधिले दुई महिना बित्दा पनि चुनावी खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनको मत परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाइसक्नुपर्ने कानुनी प्रावधान भए पनि उनीहरूले हालसम्म विवरण बुझाएका छैनन् । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तनहुँबाट १ हजार ६३७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । हालसम्म ४०१  जनप्रतिनिधिले चुनावी खर्चको विवरण बुझाएका छन् भने १ हजार २३६ ले अझै बुझाएका छैनन् । 

कार्यालयले गत जेठ मसान्तसम्म निर्वाचन खर्चको विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धीरेन्द्र शाहीका अनुसार खर्च विवरण नबुझाउनेमा अधिकांश पराजित र केही निर्वाचित उम्मेदवार छन् । भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित तथा पराजित उम्मेदवारले पनि खर्च विवरण बुझाएका छैनन् । 

त्यसैगरी, भानु नगरपालिकाका प्रमुख र उपप्रमुखमा निर्वाचित, वडाध्यक्ष र वडासदस्य कसैले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । अधिकांश निर्वाचित उम्मेदवारले नै खर्चको विवरण बुझाउन अटेर गर्दै आएको पाइएको छ । आँबुखैरेनी गाउँपालिकामा निर्वाचित उम्मेदवारले खर्च विवरण बुझाए पनि अन्य पालिकाका उम्मेदवारले भने आलटाल गर्दैआएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्