एशियाली अर्थतन्त्रका लागि महँगीभन्दा ठूलो चिन्ता बलियो डलर, थप बढ्ला त डलरको भाउ ?



एजेन्सी,साउन १४ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ ब्याजदर वृद्धिको ‘रेस’मा लागेपछि विश्वका प्रमुख मुद्राका तुलनामा डलर बलियो बनेको छ ।

डलर बलियो बनेपछि संसारभर स्थानीय मुद्राका तुलनामा डलर महँगो भएको अवस्था नेपाल, भारत, इन्डोनेशिया लगायत कयौं देशमा छ । एशियामा अहिले महँगीभन्दा पनि ठूलो चिन्ता र समस्या डलर र स्थानीय मुद्राबीचको विनिमय दरमा तीव्र अवमूल्य भएको विश्लेषण गर्न थालिएको छ । 

आफूहरूलाई विशेषगरी अहिले एशियामा महँगी नियन्त्रण गर्ने नीतिभन्दा पनि कमजोर विनिमय दर, सुक्दै गइरहेको डलरको तरलता अनि भुक्तानी सन्तुलन आदि सबैभन्दा ठूलो समस्या लागेको सिंगापुरस्थित डीबीएस बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख अर्थशास्त्री तैमुर बैगले बताएको भन्दै बिहीवार सीएनबीसीमा समाचार छापिएको छ ।

उत्पादन लागत बढ्ने क्रम जारी रह्यो भने आगामी वर्ष भारत जस्तो खाद्यान्न उत्पादन गर्ने र बाँकी विश्वलाई निर्यात गर्ने देशमा समेत खाद्य आपूर्तिबारे असुरक्षा देखिन थाल्ने उनको भनाइ छ । 

विश्वव्यापी इन्धन संकटले अहिले नै सबैतिर मुद्रास्फीति बढिरहेकाे छ । आगामी वर्ष यसले खाद्य महँगी निर्धारणमा भूमिका खेल्ने उनी बताउँछन् । आपूर्ति पक्षसँग सम्बन्धित महँगी पनि आगामी वर्षभर रहने उनको भनाइ छ । यसले विश्व अर्थतन्त्रमा प्रतिकूल प्रभाव पार्ने चेतावनी उनले दिएका छन् । 

एशिया क्षेत्रका अर्थतन्त्रहरूले मौद्रिक तथा वित्तीय नीतिमार्फत अर्थतन्त्रहरूलाई टेवा दिने ठाउँ टन्नै देखिएको र यसको आवश्यकता पनि रहेको उनले बताएका छन् । मौद्रिक नीतिको पक्षमा कुनै राहत नदेखिएकोले चालु खाता घाटालाई दिगो स्तरमा राख्न ब्याजदर बढाएरै भए पनि अर्थतन्त्रलाई सुस्त बनाउने पर्ने सुझाव पनि बैगले दिएका छन् ।

पछिल्लो समय विनिमय दर कमजोर हुने क्रम जारी रहँदा एशिया क्षेत्रका साना अर्थतन्त्रहरू त चपेटामा आएका छन् नै, भारत र चीनजस्ता ठूला अर्थतन्त्रले पनि उल्लेख्य अवरोध सामना गर्न सक्ने उनी बताउँछन् ।

केही विश्लेषकहरूले डलर सूचक उत्कर्षमा पुग्न लागेको समेत बताएका छन् । आईएमए एशियाका प्रबन्ध निर्देशक रिचर्ड मार्टिनले बिहीबार सीएनबीसीलाई यस्तो बताएका थिए । फेडको ब्याजदर वृद्धिलाई पछ्याउँदै विश्वका अन्य प्रमुख अर्थतन्त्रका केन्द्रीय बैंकहरूले पनि ब्याजदर बढाउने र अमेरिका र ती देशहरूबीच ब्याजदर अन्तर कम हुँदै गएपछि डलरको भाउ वृद्धि सुस्ताउन थाल्ने मार्टिनको भनाइ छ ।

उदीयमान अर्थतन्त्रमा स्थानीय मुद्रा र डलरको विनिमय दर सुध्रने र आगामी वर्षको शुरुसम्ममा यो अघिल्लो स्तरमा आउने प्रक्षेपण उनले गरेका छन् । 

यसैबीच एशियामा बढ्दै गइरहेको महँगीको चाप अन्य क्षेत्रको तुलनामा ठिकठाक रहेको भएपनि यसलाई कम गर्न कयौं एशियाली देशहरुले ब्याजदर बढाउनु पर्ने बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बताएको छ ।

मुद्रास्फीतिको चाप एशियामा अन्य क्षेत्रको तुलनामा कम भए पनि महँगी केन्द्र बैंकहरूको लक्षित विन्दुभन्दा माथि नै रहेको कोषका एशिया प्रशान्त क्षेत्रका निर्देशक कृष्ण श्रीनिवासनले बिहीवार एक ब्लग पोष्टमा भनेका थिए । अस्थिर खाद्यान्न र ऊर्जाबाहेक अन्य वस्तुमा पनि महँगी व्यापक देखिएकोले कयौं देशले ब्याजदर बढाउन जरुरी भएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्