‘मौद्रिक नीतिले आर्थिक वृद्धिको लक्ष्यमा सहयोग पुग्दैन’



विराटनगर,साउन ११ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यमा सहयोग नपुग्ने नेपाल उद्योग परिसंघ, प्रदेश १ ले बताएको छ । परिसंघले मौद्रिक नीतिले मुलुकको भावी आर्थिक क्षेत्रको विकासलाई धेरैतिरबाट प्रभावित बनाउने सम्भावना देखिएको उल्लेख गरेको छ ।

‘राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर)मा गरेको वृद्धिले बैंकहरूको कर्जा १ प्रतिशत अर्थात् ५० अर्बभन्दा बढीले संकुचन हुनेछ,’ परिसंघको विज्ञप्तिमा भनिएको छ, ‘फलस्वरूप लगानी प्रभावित हुने निश्चित छ । मौद्रिक नीतिले विदेशी विनि!मयलाई स्थिर राख्ने, मागलाई नियन्त्रण गरेर आयातलाई निरन्तरता दिने प्रयास गरेको देखिएको भए तापनि यसले बैंकदर बढाएकाले तत्काल तरलता संकट बढाउने सम्भावना रहेको परिसंघले औंल्याएको छ । शेयर बजारका साना लगानीकर्तालाई भने उत्साहित बनाउन खोजेको बताइएको छ । मौद्रिक नीति मुलुकको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित नदेखिएको परिसंघको ठहर छ ।

‘विगतमा एकपछि अर्को समस्याको मार खेपिरहेका नेपाली उद्योग र व्यवसायलाई सहज हुनेगरी मौद्रिक नीति आउने अपेक्षा गरिएकोमा विगतको भन्दा निकै कसिलो भएर आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ब्याजदर घटाएर एकल दरमा कायम गरिनुपर्ने उद्योगी व्यवसायीको माग बेवास्ता गरी मुद्रा आपूर्ति घटाउने, ब्याजदर अझै बढाउने नीति अवलम्बन गरिएको छ,’ ‘जसको प्रभावले मूल्यवृद्धिलाई बढावा दिने निश्चित छ ।’

प्रतिक्रिया दिनुहोस्