भारू—नेरू विनियम दर : स्थिर ठीक कि अस्थिर ?



वीरगञ्ज,साउन ११ । तीन दशकदेखि नेपाली रुपैयाँ (नेरू) र भारतीय रुपया (भारू)को बीचको विनिमय दर स्थिर छ । भारू १०० को औपचारिक विनिमय दर नेरू १६० छ । तर, सीमावर्ती बजारमा अहिले भारू १०० किन्न नेरू १६५ सम्म खर्च गर्नुपर्छ । एक समय यो १७० सम्म पुगेको थियो । कारोबारीहरू यो अतिरिक्त रकमलाई ‘बट्टा’ भन्छन् ।

नेपाल राष्ट्र बैंकका अधिकारी र व्यवसायीहरू औपचारिक विनिमय दरभन्दा बढीमा भारू किनबेच हुनुलाई माग र आपूर्तिको नियम मान्छन् । सन् १९९३ देखि यी दुई मुद्राबीचको विनिमय दर स्थिर भए पनि व्यवहारमा अस्थिर विनिमय दर प्रचलनमा छ ।

स्थिर विनियम प्रणाली अपनाउन शुरू गर्दाताका यो समस्या थिएन । त्यसको केही वर्षपछि भारूका लागि अतिरिक्त रकम तिर्नुपर्ने अवस्था बन्यो । भारतसँगको बढ्दो व्यापारघाटा र न्यून बीजकीकरणलाई भारू अभावको मुख्य कारण मानिन्छ ।

औपचारिक रूपमा वर्षौंदेखि एउटै विनिमय दर, व्यवहारमा खुला बजार हावी हुँदा स्थिर विनिमय दर प्रणालीको औचित्यमा प्रश्न पनि उठ्ने गरेको छ । बेलाबेलामा यो प्रणाली पुनरवलोकनको कुरा पनि उठ्दै आएको छ ।

विनिमय प्रणाली पुनरवलोकनका पक्षपातीहरू सटही दर १६० नै किन भन्ने प्रश्न गर्न थालेका छन् । विनिमय दर तोक्ने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंकले आयोजना गर्ने अन्तरक्रिया र औपचारिक कार्यक्रमहरूमा पनि यसबारे बहस हुने गरेको बताइन्छ ।

तर, यो क्षेत्रका जानकारहरू अहिले भारूसँगको स्थिर विनिमय प्रणाली छाडेर अस्थिर (फ्लोटिङ)मा जानु आत्मघाती हुने बताउँछन् । तीमध्येका एक हुन्– नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री । ‘अहिले भारूसँगको स्थिर विनिमय दर हटाउन खोज्नु जोगी भएर बसौंला भनेजस्तै हो,’ क्षेत्रीले भने ।

नेपालको करीब दुई तिहाइ व्यापार भारतसँग छ । खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तु आपूर्तिमा भारतकै भर पर्नुपर्ने र विदेशी मुद्राको सञ्चिति घटेका बेला स्थिर विनिमय दर हटाउनु अर्थतन्त्रका लागि घातक हुने उनी बताउँछन् ।

नेपालको वैदेशिक व्यापार भारतमा बढी निर्भर नरहेको भए यस विषयमा सोच्न सकिने क्षेत्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्