अन्न निर्यातका लागि रुस – युक्रेन सम्झौता, २ करोड टनभन्दा बढी अन्न आपूर्ति गर्ने बाटो खुला



काठमाडौं,साउन ८ । युद्धका कारण विश्व व्यापी रुपमा खाद्यान्न संकट बढ्ने चिन्ता बढीरहेका बेला मृतसागर(ब्ल्याक सी) हुँदै अन्न निर्यात गर्ने बाटो खोल्ने सम्झौता भएको छ । 

शुक्रवार टर्कीएमा युक्रेन र रुस  बीच भएको सम्झौतापछि युक्रेनबाट १० औं लाख टन अन्न निर्यात गर्ने बाटो खुलेको छ । पछिल्लो सम्झौताले युद्धका कारण युक्रेनमा रहेको अन्न निर्यात अव हुनेछ । उक्त सम्झौता अनुसार ब्ल्याक सीतर्फका युक्रेनी बन्दरगाहहरूलाई रुसले क्रमैसँग खुला गर्ने छ ।

रुसले युक्रेनतर्फको बन्दरगाहमा अवरोध कायर्म राख्दा १० औं लाख मानिसहरूले भोकमरीका कारण ज्यान गुमाउन सक्ने विश्व खाद्य कार्यक्रमले यसअघि नै भनेको थियो ।

तर रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले युक्रेनले उसका बन्दरगाह आसपासका जलक्षेत्रमा विछ्याएका बारुदी धराप हटाइएका खण्डमा युक्रेनको अन्न निर्यातको बिषय समाधान हुन सक्नेमा आफू आशावादी रहेको बताएका छन्। युक्रेन विश्वको एउटा प्रमुख अन्न निर्यातकर्ता देश हो। 

रुसले गत फेब्रुअरी २४ मा गरेको आक्रमणसँगै विश्वमा देखिएको अन्नको अभावले १० औं लाख मानिसहरूलाई भोकमरीको जोखिममा पारेको छ। दुवै पक्षले इस्तानबुलमा भएको हस्ताक्षर समारोहमा भाग लिएका थिए तर उनीहरू एउटै टेबुलमा भने बसेनन्। सम्झौतामा रुसी रक्षामन्त्री सर्गेइ सोइगुले शुरुमा हस्ताक्षर गरे। त्यसपछि युक्रेनी पूर्वाधारमन्त्री ओलेक्सान्डर कुब्राकोभले हस्ताक्षर गरेका थिए।

उक्त सम्झौता १२० दिन कायम रहने भनिएको छ । दुवै पक्षको सहमतिमा सम्झौतालाई फेरि नवीकरण गर्न सकिने पनि भनिएको छ। युक्रेनी अन्न आपूर्तिमा लगाइएको बन्देजले विश्वव्यापी खाद्य संकट निम्त्याएको थियो र गहुँबाट बन्ने पाउरोटी र पास्ताको मूल्य उच्च भएको थियो। त्यसबाहेक खाना पकाउने तेल र मलको मूल्य समेत वृद्धि भएको थियो। अमेरिकाले पनि उक्त सम्झौता कार्यान्वयनको कदम तुरुन्तै चाल्न रुसलाई अनुरोध छ।

२ करोड टनभन्दा बढी युक्रेनी अन्नको आपूर्ति हुने सम्भावना देखा परेसँगै शुक्रवार विश्व बजारमा गहुँको मूल्य दुई प्रतिशतले घटेको थियो।

शुक्रवारको आफ्नो रात्रिकालीन सम्बोधनमा युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशसँग झन्डै १० अर्ब डलर बराबरको विक्रीयोग्य अन्न रहेको बताएका थिए। सम्झौता सुनिश्चित गर्ने जिम्मेवारी संयुक्त राष्ट्र संघको भएको पनि उल्लेख गरेका छन् । युक्रेनले अन्न र अन्य आयातजन्य सामाग्रीहरूलाई आपूर्ति गर्नबाट रुसी जलसेनाले रोक्दै आएको बताउँदै आएको छ।

उसले आफ्ना कृषि क्षेत्रबाट रुसी फौजहरूले अन्न समेत चोरेको आरोप लगाएको छ। सुख्खा, कोभिड-१९ महामारी र युक्रेनको युद्धका कारण विश्वका कतिपय राष्ट्रहरुले चरम खाद्य संकटको सामना गरिरहेको छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्