अर्थतन्त्र सुस्ताउने चिन्ता : श्रम बजारप्रति त्रस्त बन्न थाले ठूला अमेरिकी कम्पनी
एजेन्सी,साउन ८ । वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको श्रम बजार अझै पनि स्वस्थ नै छ ।
बेरोजगारी दर ३ दशमलव ६ प्रतिशत मात्रै छ अनि कयौं रोजगारदाताहरुले कर्मचारी भर्नालाई निरन्तरता दिइरहेका छन् । तर ठूला कम्पनीहरु भने त्रस्त बन्न थालेको जस्तो देखिएको छ ।
आइफोन निर्माता कम्पनी एप्पलले नयाँ कर्मचारी भर्नाको गति सुस्त बनाउने बताएको छ । बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्ट, फेसबुकको मातृ कम्पनी मेटा, सर्च इञ्जिन गूगलको मालिक अल्फाबेटले पनि एक पछि अर्को गर्दै कर्मचारी भर्ना ठप्प पर्ने नीति लिइरहेका छन् । लगानी बैंकिङ कम्पनी गोल्डम्यान श्याख्सले यो वर्षको दोस्रो त्रैमासमा कर्मचारी भर्ना आक्रामक रुपमा नगर्ने घोषणा गरेको छ ।
अटो निर्माता कम्पनी फोर्डले चाँडै नै कर्मचारी कटौतीको घोषणा गर्ने हल्ला चलिरहेको छ । विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले कर्मचारी कटौतीको घोषणै गरिसकेको छ । अमेरिकी कस्मेटिक्स निर्माता कम्पनी भिक्टोरियाज सेक्रेटले यही महीनाको शुरुमा कर्मचारीलाई कामबाट निकाल्यो । ट्विटरको ताल पनि त्यस्तै छ ।
अर्थतन्त्र सुस्ताउने र मन्दीमै जाने हो कि भन्ने चिन्ता बढिरहेको समयमा कम्पनीहरु अहिले आफूलाई अत्यन्त जरुरी कर्मचारीहरु कति होलान् भन्ने खुट्टयाउन लागि परेका छन् । यो समस्या एउटै उद्योग वा कम्पनीमा छैन सबैतिर व्याप्त छ । आकाशिएको महँगी नियन्त्रण गर्न आगामी हप्ता फेडले ब्याजदर बढाएपछि मन्दीको चिन्ता झनै बढ्नेछ ।
कम्पनीको कर्मचारी भर्ती शून्य नै त नहुने तर बजार र आर्थिक अवस्था खस्किदै गयो भने रोजगारी योजनामा हेरफेर हुन्न भन्ने चाँही गोल्डम्यान श्याख्सका प्रमुख कार्यकारी अधिकृत डेभिड सोलोमोनले पनि अस्वीकार गरेका छैनन् ।
‘आगामी ६ महीनामा विश्वको अवस्था कस्तो हुन्छ भनेर म भन्न सक्दिन, अवस्था झनै अप्ठ्यारो भयो भने सोही अनुरुप मैले पनि समायोजन गर्नेछु’, सोलोमनको भनाइ छ । यस्ता कुराबारे विचार गर्दा आफूहरु अति नै सतर्क रहने कोशिश गर्ने उनले बताए ।
हालैका हप्तामा अमेरिकामा राजीनामा दिने वा काम छाड्नेको संख्या पनि क्रमिक रुपमा बढिरहेको छ । गत हप्ता बेरोजगारी भत्ता दिनेको संख्या २ लाख ५१ हजारमा पुगेको गत बिहीवार सरकारले सार्वजनिक गरेको एउटा प्रतिवेदनले देखाएको थियो । ऐतिहासिक स्तरको तुलनामा कम भएपनि बेरोजगारी भत्ता दाबी गर्नेको यो साप्ताहिक संख्या आठ महीनायताकै उच्च हो ।
कर्मचारी कटौती व्यापक हुँदैन भन्ने तर्क गर्नेहरु पनि छन् । राजीनामा दिने होडबाजी (ग्रेट रेजिग्नेशन) भइरहेको अवस्थामा कयौं क्षेत्रमा अझैं पनि कर्मचारी अभाव छ । श्रम बजार सुदृढ भइ नै रह्यो भने मन्दीको आर्थिक प्रभाव न्यून हुन सक्ने देखिएको छ ।