थप बिजुली निर्यात गर्न पुग्दैन पूर्वाधार
काठमाडौं,साउन ५ । भारतीय बजारमा थप बिजुली निर्यात गर्न पूर्वाधार अभाव हुने देखिएको छ । नेपालबाट अहिले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ३६४ मेगावाट विद्युत् निर्यात भइरहेको छ ।
भारतीय बजारमा जलविद्युत्को माग दिनदिनै बढ्दै गए पनि नेपालमा ठूला क्षमताका प्रसारण लाइन नहुँदा थप बिजुली निर्यात गर्न समस्या हुने नेपाल विद्युत् प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीले बताए ।
ऊर्जा नेपालले आयोजना गरेको कार्यशालामा बोल्दै अधिकारीले यस्तो टिप्पणी गरेका हुन् । ‘अन्तरदेशीय प्रसारण लाइनको क्षमता कम हुँदा धेरै विद्युत् आदानप्रदान गर्न सक्ने अवस्था छैन,’ अधिकारीले भने, ‘अहिले आन्तरिक र अन्तरदेशीय दुवै खाले प्रसारण लाइनमा क्षमता अभाव छ ।’
यो वर्ष उत्पादन ३ हजार मेगावाट पुग्ने
अहिले नेपालमा करीब २ हजार २०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । चालू आर्थिक वर्षभित्र थप ८०० मेगावाटसहित ३ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने प्राधिकरणको प्रक्षेपण छ । तर, प्राधिकरणसँग भएको प्रसारण संरचना भने पुराना र जीर्ण अवस्थाका छन् । यसले गर्दा आगामी दिनमा उत्पादन भएको विद्युत् न त आन्तरिक खपत गर्न सहज छ न त निर्यात गर्न नै । नेपालमा २ हजार २०० मेगावाट जडितक्षमताका आयोजना सञ्चालनमा आइसकेका छन् । ३ हजार २८९ मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । १ हजार ५५३ मेगावाट क्षमताका आयोजना विभिन्न चरणमा गरी कुल ७ हजार ३२ मेगावाट क्षमताका आयोजना अघि बढेका छन् ।
नेतृत्व दूरदर्शी नहुँदा समस्या
नेपालमा ऊर्जा विकास गर्ने निकायको नेतृत्वमा बस्नेहरू दूरदर्शी नहुँदा मुलुकमै पहिलोपटक ४०० केभी क्षमतामा बनेको ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट पनि फाइदा लिन सकिएको छैन ।
१ हजार मेगावाट विद्युत् आयातनिर्यात गर्न सक्ने गरी उक्त प्रसारण लाइन बने पनि यसबाट अधिकतम ६०० मेगावाट मात्रै आदानप्रदान गर्न सकिन्छ । तर, नेपालले हजार मेगावाट बराबरकै विभिन्न शुल्क तिर्दै आएको छ । यसले गर्दा यहाँबाट आयातनिर्यात हुने विद्युत् झनै महँगो पर्ने गरेको छ ।
उक्त प्रसारण लाइन बनाउँदा क्वाड प्रविधिको कन्डक्टर प्रयोग गरिएको भए त्यसको क्षमता २ हजार मेगावाट हुने र हजार मेगावाटभन्दा बढी विद्युत् सहजै निर्यात गर्न सकिने जानकार बताउँछन् ।
५ वर्षमा तेब्बर हुँदै उत्पादन
सन् २०१७/१८ सम्म नेपालको विद्युत् उत्पादन १ हजार ७४ मेगावाट मात्रै थियो । सन् २०२२/३४ सम्म विद्युत् उत्पादन ३ हजार १ मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।
सन् २०२०/२१ सम्म १ हजार ४६२ मेगावाट रहेको नेपालको विद्युत् उत्पादन २१/२२ मा आइपुग्दा २ हजार १९० मेगावाट पुगेको छ ।
विद्युत् उत्पादन वर्षैपिच्छे ठूलो परिमाणमा बढे पनि प्रसारण लाइनको क्षमता भने दिनदिनै कम हुँदै गएको छ । प्रसारण लाइन पुरानो र जीर्ण हुँदै जाँदा विद्युत् प्रवाह गर्ने क्षमता घटिरहेको छ । नयाँ प्रसारण लाइन नबनाउने हो भने नेपालले आन्तरिक र अन्तरदेशीय दुवै विद्युत् व्यापार गर्न नसक्ने अवस्था आएको छ ।
न्यू बुटवल गोरखपुर प्रसारण लाइन बन्न अझै ३ वर्ष लाग्ने
नेपालको दोस्रो अन्तरदेशीय प्रसारण लाइन बन्न कम्तीमा ३ वर्ष लाग्ने देखिएको छ । विभिन्न खण्डमा ठेक्का आ⋲वान भए पनि प्रसारण लाइन बनाउन लाग्ने लगानीको जोहो अहिलेसम्म भएको छैन ।
ऋणका लागि विदेशी दातृनिकायसँग छलफल भइरहेको छ । तर, टुंगोमा भने नपुगेको अधिकारीले बताए ।
सतलज जलविद्युत् निगम (एसजेभीएन)ले निर्माण गरिरहेको ४०० केभी प्रसारण लाइनको क्षमता २ हजार मेगावाट भएकाले नेपालले केही समय त्यसबाटै भारतमा बिजुली निर्यात गर्ने योजना बनाएको छ । तर, आन्तरिक प्रसारण लाइन निर्माणको अवस्था कमजोर भएकाले अन्तरदेशीयको विकल्प हुँदाहुँदै पनि नेपालले थप विद्युत् निर्यात गर्न नसक्ने देखिएको छ ।
सन् २०२५ सम्ममा २ हजार ४५६ मेगावाट निर्यात गर्न सकिने
नेपालले अहिले वर्षायाममा ३६४ मेगावाट विद्युत् भारतमा निर्यात गरिरहेको छ । भारतबाट सुक्खायाममा २५० मेगावाट आयात गरिरहेको छ । तर, सन् २०२४/२५ सम्ममा नेपालले २ हजार ४५६ मेगावाट विद्युत् निर्यात गर्ने र आयात शून्यमा झर्ने प्राधिकरणको प्रक्षेपण छ ।
अहिले नेपालको निर्यात क्षमता ६१३ मेगावाट छ । आगामी वर्ष यो १ हजार २९६ मेगावाट पुग्नेछ । आयात भने १५७ मेगावाटमा सीमित हुनेछ ।
भारतमा विक्रीको ग्यारेन्टी भए प्रतियुनिट लागत ४ सेन्टभन्दा कम
अहिले नेपालमा जलविद्युत् आयोजनाहरू क्यु४० मा डिजाइन गर्ने गरिन्छ । यो भनेको खोलामा बग्ने पानीको ६० प्रतिशत मात्रै प्रयोग गर्न पाइन्छ । खोलामा बग्ने सबै पानी प्रयोग गर्न नपाउँदा नेपालमा बिजुलीको उत्पादन लागत ४ दशमलव ४३ सेन्टभन्दा बढी छ । यसलाई क्यू२५ मा डिजाइन गर्ने हो भने प्रतियुनिट ४ सेन्टभन्दा कम लागतमा विद्युत् उत्पादन गर्न सकिनेछ । भारत, बंगलादेश वा अन्य कुनै पनि मुलुकमा विद्युत् निर्यातको ग्यारेन्टी हुँदा विद्युत् आयोजनालाई क्यू२५ मा डिजाइन गरेर प्रतिस्पर्धी मूल्यमा उत्पादन गर्न सकिने अधिकारीको भनाइ छ ।
किन चाहिन्छ भारतलाई नेपालको बिजुली ?
भारत विश्वकै दोस्रो ठूलो कोइला आयातकर्ता मुलुक हो । कोइला सञ्चित गर्ने मुलुकमा भने भारत चौथो नम्बरमा छ ।