बरुणेश्वर झरना तथा मन्दिरका भक्तजनलाई निशुल्क स्वास्थ सेवा
काठमाडौं, साउन २ । बरुणेश्वर झरना तथा मन्दिरका भक्तजनलाई निशुल्क स्वास्थ सेवा प्रदान गरिएको छ ।
टोखा नगरपालिका वडा नम्बर १ को पहलमा ४ जना स्वास्थ्यकर्मीको टोलीले उपस्थित दर्शनार्थीको स्वास्थ्य परिक्षण गरेको वडा नम्बर १ का अध्यक्ष रमेशकुमार लामिछानेले बताए ।
मन्दिर आएका स्वास्थ्य कम्जोर भएको आशंका गरेका दर्शनार्थीको स्वास्थ्य परिक्षण गरि आवश्यक परामर्श तथा उपचार गरिएको थियोे । श्रावण महिनाको साप्ताहिक सोमबार परिक्षणलाई निरन्तरता दिइने अध्यक्ष लामिछानेले बताए ।
त्यस्तै मन्दिर परिसरमा भक्तजनलाई श्रावण १ महिनासम्म शिवपुराण सुनाइने भएको छ । सोमबार १ नम्बर वडाका अध्यक्ष रमेशकुमार लामिछानेले पुराणको उद्घाटन गर्दै आवश्यक खाना,खाजा, पाल तथा कुर्सी ब्यवस्थापन गरिने बताए । अध्यक्ष लामिछानेले झोरलाई प्राकृतिक रुपमा मात्र नभई धार्मिक रुपले समेत चिनाउने लक्ष्य रहेको बताए ।
यता बौडेश्वर मन्दिर तथा झरना संरक्षण समितिले भविष्यमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि नव आगन्तुक भक्तजनबाट स्वैच्छिक सहयोग रकम समेत संकलन गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष सन्तोष अधिकारीले बताए । अध्यक्ष अधिकारीका अनुसार सोमबार ४६ हजार ६ सय २५ सहयोग संकलन भएको छ ।