विश्व बैंकले नेपाललाई दियो १० करोड डलर ऋण सहायता
काठमाडौं,असार ३२। बहुपक्षीय दातृनिकाय विश्व बैंकले नेपाल १० करोड डलर (रू. १२ अर्ब ७५ करोड) बराबरको ऋण सहायता स्वीकृत गरेको छ । नेपालको हरित, जलवायु उत्थान तथा समावेशी विकासका लागि विश्व बैंकले उक्त ऋण सहयोग गर्ने भएको हो ।
विश्व बैंकका कार्यकारी निर्देशक तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय प्रतिनिधि फारिस हदाद जर्भोसले शुक्रवार उक्त सहयोग स्वीकृत गरेका हुन् । वातावरणीय सुरक्षासँगै समावेशी विकासका कार्यक्रमका लागि बैंकले यस्तो कार्यक्रममा पहिलोपटक ऋण सहयोग गरेको हो ।
‘कोभिड महामारीको समय, वातावरणीय सुरक्षा, समावेशी र थप लचिलो विकास मार्गलाई अगाडि बढाउन विश्व बैंकले नेपालमा आफ्नो कार्यक्रम केन्द्रित गरेको छ, विश्व बैंकका प्रतिनिधि जर्भोसले भने, ‘यसमार्फत हामी पानी, भूमि प्रयोग, कृषि, वन, शहरी विकास, फोहोर, प्रदूषण लगायत क्षेत्रमा नेपाल सरकारको मुख्य नीतिगत कार्यलाई समर्थन गर्दै छौं ।’ उक्त सहयोगले नेपालको दिगो विकास र समृद्धिमा सहयोग पुग्ने विश्व बैंकको अपेक्षा छ ।