बदनाम बन्दै मुलुककै जेठो विश्वविद्यालय
काठमाडौं, असार ३१। देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ ।
प्रधानमन्त्री कुलपति रहने त्रिविमा पछिल्लो दिन गम्भीर प्रकारका गल्ती दोहोरिनेक्रम बढेका छन् । प्रश्नपत्र गत वर्षको हुबहु हुने, परीक्षाफल समयमै प्रकाशन नहुने, ढिलासुस्ती तथा अनियमिततालगायत कारण जेठो विश्वविद्यालयको प्रतिष्ठा र विश्वासमाथि प्रश्न उठ्न थालेको छ ।
त्रिविले गत १८ जेठमा लिएको मानविकी संकाय स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत पब्लिक इकोनोमिक्स र २३ जेठमा स्नातकोत्तर तहको राजनीतिशास्त्र पहिलो सेमेस्टारको इन्टरनेसनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु मिलेको थियो । ६० पूर्णांकको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको हुबहु मिलेको होे ।
त्रिविले हुबहु प्रश्नपत्र दोहोरिएकोबारे छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको अवस्थामा अर्को विषयको पनि प्रश्नपत्र हुबहु दोहोरियो । त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाउन लगाउने गरेको छ । तर, प्रश्नपत्र भने हुबहु दोहोरिने गरिएको छ । यस घटनाप्रति त्रिविको चर्को आलोचनासमेत भएको छ ।
त्रिविले समयमै परीक्षाफल प्रकाशित नगरेका कारण पनि त्रिविप्रतिको विश्वास घट्दो मात्रामा रहेको पाइएको छ । त्रिविले लिएको परीक्षा सम्पन्न भएको वर्ष दिन बित्दासमेत कतिपय विषयको परीक्षाफल प्रकाशित नहुने गरेको छ ।समयमै परीक्षाफल प्रकाशित गर्न त्रिवि असफल देखिएको छ।
यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।