सरकारको आर्थिक अनुशासनहीनता बढ्यो, बेरुजु ४ खर्ब ८३ अर्ब
काठमाडौं,असार २९ । सरकार तथा सरकारका अङ्गहरूले गर्ने खर्चमा आर्थिक अनुशासनहीनता देखिन छाडेको छ । सरकारलेनै खर्च गर्दा विधि र प्रक्रिया नपुर्याई गरेको सरकारकै अर्को संवैधानिक अङ्गले महालेखा परीक्षणले देखाएको छ ।
सरकारले हालसम्म ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपियाँ विधि प्रक्रिया मिचेर खर्च गरेको महालेखापरीक्षक कार्यालयले जनाएको छ । महालेखापरीक्षक कार्यालयले ५९ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सरकारको बेरुजु बढ्दो अवस्थामा रहेको जनाएको छ ।
अहिले देशमा ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपियाँ बेरुजु पुगेको देखिएको छ । महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले प्रतिवेदन सार्वजनिक गर्दै बेरुजु डरलाग्दो अवस्थामा रहेको बताए । सरकारको पछिल्लो एक वर्षमै बेरुजु १ खर्ब १५ अर्ब ५ करोड ५० लाखले बढेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा तिन तहको सरकारमध्ये स्थानीय तहको बेरुजु तीव्र बढेको देखिएको छ । हालसम्म सङ्घीय सरकारी कार्यालयतर्फ ४९ अर्ब ४७ करोड ७ लाख, प्रदेश सरकारी कार्यालयमा ७ अर्ब ४८ करोड ११ लाख, स्थानीय सरकारतर्फ ४३ अर्ब ९० करोड ९५ लाख बेरुजु देखिएको छ । सरकारकै विभिन्न समितिहरूको १४ अर्ब १९ करोड र तीन तहमा गरेर १ खर्ब १५ अर्ब ५ करोड ५० लाखको बेरुजु निस्किएको बताए ।