५ डलरले घट्यो कच्चा तेलको भाउ



बेलायत,साउन २९ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा तीव्र कमी आएको छ । अमेरिकी डलर बलियो बनेको र चीनले कोभिड नियन्त्रण गर्न थप लकडाउनका ताजा उपायहरु शुरु गरेसँगै विश्व अर्थतन्त्र मन्दीमा जाने भय बल्झिँदा मंगलबार कच्चा तेलको भाउ झन्डै ५ डलरले घटेको छ । 

उक्त दिन लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ५ डलरले घटेर १०२ डलर १ सेन्टसम्म आएको थियो । यो समाचार तयार पार्दाखेरी नेपाली समयअनुसार साँझ ५ः३० बजेतिर ब्रेन्टको भाउ प्रतिब्यारेल ४ दशमलव २३ प्रतिशत (४ डलर ५३ सेन्ट)ले घटेर १०२ डलर ५७ सेन्टमा आयो ।

मंगलबारको कारोबारमा न्यूयोर्कस्थित न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्स इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउमा पनि झन्डै ५ डलरको कमी देखियो । यो समाचार तयार पार्दाखेरि डब्ल्यूटीआईको भाउ ४ दशमलव २५ प्रतिशत (४ डलर २७ सेन्ट)को कमीसहित ९९ डलर १४ सेन्टमा आएको थियो । 

आर्थिक मन्दी निम्तने भय बढिरहनु र चीनबाट निरन्तर सुस्त मागका कारण तेलको भाउ घटिरहेको विश्लेषकहरुले बताएका छन् । पछिल्लो समय चीनमा कोरोना भाइरसको संक्रामक प्रकार ओमिक्रोनको उपप्रकार बीए.५.२.१ भेटिएपछि कयौं चिनियाँ शहरहरुले संक्रमण नियन्त्रणका लागि ताजा उपायहरु अपनाइरहेका छन्, व्यवसाय रोक्ने देखि लकडाउनसम्मका उपायहरु अपनाउन लागिएको छ ।

युक्रेनमाथि हमला गरेपछि रुसको तेलमा यस अघि नै पश्चिमी देशहरुले प्रतिबन्ध लगाउँदा कच्चा तेल र इन्धनको आप्रवाह अवरुद्ध भएको छ । यूरोपतर्फको तेल आपूर्तिमा अन्य कटौती पनि देखिएको छ । रुसको अदालतले पाइपलाइन ३० दिनसम्म सञ्चालन बन्द गर्ने यस अघिको सुनवाई उल्टयाएपछि क्यास्पियन पाइपलाइन कन्सोर्टियम सिष्टम (सीपीसी)मा अवरोधको चिन्ता मत्थर भएको छ ।

तर रुसले पाइपलाइन बन्द गर्न सक्ने चिन्ता व्यापारी र विश्लेषकहरुमा व्याप्त छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक)का अधिकांश सदस्यहरुले आफ्नो अधिकतम् क्षमताअनुरुप तेल उत्पादन गरिरहेकोले समूहको अतिरिक्त तेल उत्पादन गर्ने क्षमता सकिदैं गइरहेको छ । यसै हप्ता साउदी अरबामा गल्फ देशका नेताहरुलाई भेट्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले ओपेकलाई तेल उत्पादन थप बढाउन अनुरोध गर्ने सोमबार ह्वाईट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भनेका थिए ।

बाइडेनको साउदी अरब भ्रमणप्रति व्यापारीहरुले खासै आशा राखेका छैनन् । निकट भविष्यमा साउदी अरबले उल्लेख्य मात्रामा तेल उत्पादन थप्ने अपेक्षा छैन भनेर विश्लेषकहरुले बताउँदै आएका छन् ।  मंगलबार अमेरिकी अर्थमन्त्री जेनेट येलेनले रुसी तेलको मूल्यमा सीमा समेत रुसमाथि प्रतिबन्ध कसिलो बनाउने तरिकाहरुबारे जापानी समकक्षीसँग छलफल गरेकी थिइन् ।

यो बहसमा रुसको प्रशोधित तेल प्रडक्ट पनि समावेश गराउनु पर्ने अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए)का कार्यकारी निर्देशक फतिह बिरोल भन्छन् ।  विश्व बजारमा पछिल्लो समय डलर बलियो बन्दै गइरहेको छ । मंगलबार यूरोको भाउ थप घटेर डलरकै हाराहारी नजिक आएको थियो । ब्याजदर बढिरहेको र आर्थिक मन्दीको भयबीच विश्वभर शेयर बजार रातोमा आएका थिए । कच्चा तेल डलरमा किनबेच हुन्छ । डलर बलियो बनेपछि अन्य मुद्रा बाहकका लागि डलर तिरेर तेल किन्न महँगो हुने भएपछि पनि तेल बजार दबाबमा आएको हो । 

प्रतिक्रिया दिनुहोस्