श्रीलंका विरोध प्रदर्शन : राष्ट्रपति भागेर अज्ञातस्थानमा, प्रधानमन्त्री राजीनामा दिन तयार



काठमाडौं,असार २५ । प्रदर्शनकारीहरूले शनिवार श्रीलंकाको राजधानी कोलम्बोस्थित राष्ट्रपति निवास घेराउ गरी कब्जामा लिएपछि राष्ट्रपति गोताबाया राजापाक्ष सरकारी निवास छाडेर अज्ञातस्थलतर्फ लागेका छन् । तर उनलाई सुरक्षित स्थानमा राखिएको बताइए पनि हालसम्म उनको अवस्था अज्ञात नै रहेको छ ।

साथै प्रधानमन्त्री रनिल विक्रमासिंघेले एउटा प्रेस विज्ञप्ति जारी गर्दै संसद बैठक बोलाउन सभामुखलाई आग्रह गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रधानमन्त्री विक्रमासिंघे पनि शनिवार नै सुरक्षित स्थानतर्फ स्थानान्तरण भएको अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ । 

राष्ट्रपतिको राजीनामा माग गर्दै आएका उनीहरुले प्रधानमन्त्रीको पनि राजीनामा मागेका छन् । र सोही विकसित घटनाक्रममा प्रधानमन्त्रीले आफू राजीनामा  दिन तयार रहेको बताएका छन् । आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्रीले आफू राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका हुन् । उनले बोलाएको आपतकाल बैठकमा कतिपय राजनीतिक दलका नेताहरुले भने बहिस्कार गरेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरुमा शनिवार राष्ट्रपति निवासभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले स्वीमिङ पुलमा पौडी खेल्नुका साथै चिया खाइरहेको दृश्य  सार्वजनिक भएको देखिएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिवार अपरान्ह भएको यो आन्दोलन यस वर्षको सबैभन्दा ठूलो प्रदर्शनमध्ये एक हो ।विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी खटाइए पनि प्रदर्शन रोकिएको छैन ।  हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले पुलिस ब्यारिकेड साथै राष्ट्रपति कार्यालयको गेट तोडफोड पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्