अस्ताए जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबे
टोकियो,असार २५ । जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको मृत्यु भएको छ । शुक्रवार पश्चिम जापानको नारा शहरमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली लागेका उनको उपचारका क्रममा मृत्यु भएको भन्दै सरकारी समाचार संस्था एनएचकेले समाचार छापेको छ ।
उनको मृत्यु पुष्टि सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका अधिकारीहरूले गरेका छन् । शुक्रवार बिहन ११ः३० बजेतिर गोली लागेका आबेलाई तत्कालै नारा मेडिकल युनिभर्सिटीको अस्पतालमा लगिएको थियो । अस्पताल लैजाँदा उनी कार्डियोपल्मोनरी अरेष्टको अवस्थामा थिए ।
उनको घाँटी र छातीबाट पनि रगत आइरहेको थियो । आबे जापानको सबैभन्दा लामो समय बहाल रहने प्रधानमन्त्री हुन् । उनको उमेर ६७ वर्ष थियो । दशकौंसम्म अफस्फीतिको चक्रमा फसेको जापानी अर्थतन्त्रलाई लयमा फर्काउन आबेले आक्रामक मौद्रिक नीति अपनाएका थिए । उनको सो नीति आबेनोमिक्सको नामले प्रख्यात छ । कोरोना भाइरसको महामारीबीच स्वास्थ्य अवस्था बिग्रिएपछि आबेले सन् २०२० मा दोस्रो कार्यकाल नसकिँदै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
जापानमा यही आइतबार माथिल्लो सदनको निर्वाचन हुँदैछ । आबेलाई गोली हान्ने व्यक्ति जापानको समुद्री आत्मरक्षा बलका पूर्व सेना भएको बताइएको छ । उनले हत्या नै गर्ने उद्देश्यले आबेमाथि किन गोली चलाए भन्नेचाहिँ स्पष्ट भइसकेको छैन ।