झोर माहाँकाल विद्यालयमा प्रदेश सांसद सङग्रौलाद्वारा कम्प्युटर कक्षाको उद्घाटन
काठमाडौं,असार २४ । टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित झोर माहाँकाल माध्यमिक विद्यालयमा बागमती प्रदेश सांसद योगेन्द्र सङग्रौलाद्वारा कम्प्युटर कक्षाको उद्घाटन गरिएको छ ।
विद्यालयमा भएको एक कार्यक्रमबीच सूचना प्रविधिमैत्री बनाउन कम्प्युटर कक्षाका लागि सङ्ग्रौलाले सांसद विकास कोषबाट १० लाख रकम विनियोजन गरेको विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धितालले बताए । विनियोजित रकमबाट ११ वटा कम्प्युटर,टेबल १० वटा, कुर्सी १५ र ल्यापटप ३ रहेको कम्प्युटर कक्ष तयार भएको छ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, टोखा नगरका उपमेयर मुरारी तामाङ, माओवादी केन्द्रका युवा नेता दिपेन्द्र लामिछाने, एमाले नेता कृष्णप्रसाद अधिकारी, नेकपा समाजवादीका लक्ष्मण बिडारी, टोखा १ नम्बरमा अध्यक्ष रमेशकुमार लामिछाने, नेपाली काङ्ग्रेसका भरत बिडारी, समाजसेवी किशोर अधिकारी, पूर्व वडाध्यक्ष श्रीकृष्ण अधिकारी, बौडेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम खतिवडा, शिक्षासेवी उत्तम अधिकारीलगायतको उपस्थिति रहेको थियोे ।
बागमती प्रदेशका सांसद योगेन्द्र सङ्गौलाले उद्घाटन समारोहमा बोल्दै तुलनात्मक दृष्टिले सूचना प्रविधिको प्रयोगशाला झोर माहाँकाल विद्यालयलाई आवश्यक परेको स्मरण गर्दै सो प्रयोजनका लागि विद्यालयलाई आवश्यक १० लाख रुपैयाँ विनियोजन गरेको बताए ।
त्यस्तै कार्यक्रम उद्घाटन समारोहमा बोल्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले चुनावमा नागरिकले विजयी गराइसके पछि आफ्नु प्रमुख दायित्व शिक्षा क्षेत्रको बिकासमा गएको बताए । सुरुमा ५०/६० जना रहेको विद्यालयमा अहिले शिक्षित अभिभावकको समेत सामुदायिक विद्यालय रोजाईको केन्द्र बन्दै गएको बताए ।
कार्यक्रममा झोर माहाँकालका विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने विविध क्षेत्रका ब्याक्तित्वलाई समेत सम्मान तथा प्रसंशापत्र प्रदान गरिएको थियोे ।