काठमाडौंमा हैजाका बिरामी बढे
काठमाडौं,साउन २३ । काठमाडौं उपत्यकामा हैजाका बिरामी बढेका छन् । उपत्यकामा थप दुई जनामा हैजा भेटिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले गए राति थप दुईजनामा हैजाको बिरामी भेटिएको बताए । ती दुवै जनाको अहिले उपचार भइरहेको बताइएको छ ।
कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उहाँले बताउनुभयो । थप दुईजनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ ।