विदेशका नेपालीलाई आउँदो निर्वाचनमै मतदानको व्यवस्था मिलाऔँ : सांसद पौडेल
काठमाडौँ,असार १२ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताएकी छन्।प्रतिनिधि सभाको आइतवारको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन ऐन नै बनाउनुपर्नेमा जोड दिइन्।
उनले आउँदो निर्वाचनमै मतदान गर्न पाउनेगरी व्यवस्था गर्न सरकारसँग माग गरिन्। उनले भनिन्, ‘प्रवासी नेपालीहरुलाई मतदानको अधिकार दिनको निम्ति सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ। त्यसको निम्ति ऐन नै बनाएर जानुपर्ने आवश्यकता देखिन्छ। सर्वोच्चले निर्देशनात्मक आदेश दिएको तर आदेश कार्यान्वयन अहिले सम्म कार्यान्वयन भएको छैन। आगामी निर्वाचनमा प्रवासी नेपालीलाई सरकारले व्यवस्था गरेर जानुपर्छ भन्ने हाम्रो सरकारसँग गम्भीर माग छ। प्रत्यक्ष निर्वाचनतर्फ मतदानको अधिकार र समानुपातिकतर्फ मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदछु।’
उनले संसदमा महिलाहरुको प्रतिनिधित्व बढाउनका लागि महिलाहरुको छुट्टै निर्वाचन क्षेत्र बनाउनुपर्ने पनि बताइन्।