महँगीको मारमा निम्न मध्यम वर्ग : छाक टार्ने थोरै विकल्प मात्रै बाँकी !
काठमाडौं,असार ८ । पछिल्लो समय महँगीका कारण सर्वसाधारणलाई जीवनयापन गर्न निकै सकस भइरहेको छ । पेट्रोल इतिहासमै पहिलो पटक २०० रुपैयाँ नजिक पुगेको छ । खाने तेलको भाउमा भएको वृद्धिले त तरकारी पनि उसिनेर खानु पर्ने अवस्था देखिन थालेको छ ।
तरकारी पनि ठाउँ हेरेर सस्तो वा महँगो छ । थोक विक्रेताकहाँबाट किन्दा केही सस्तो भएपनि चोक चोकमा खुद्रा पसलमा आइपुग्दा तरकारीको भाउ जिब्रो नै टोक्न मन लाग्ने गरी महँगो छ । चामल, गहुँ दालसमेत सबै खालका खाद्य वस्तु त बढेको छन् नै अखाद्य वस्तुको भाउ पनि बढेका छन् । जारको पानी महँगो भएको छ । व्यापारीहरुले चिनीको भाउ आफूखुसी बढाएका छन् ।
महँगीको प्रभाव सबैतिर देखिएको छ । कयौं मानिस लत्ता कपडा, घुमफिर र रेष्टुराँमा गएर खाने खर्च घटाइरहेका छन् । कार्यालय आउँदा आजसम्म कहिले खाजा बोकेर नआउने कीर्तिपुरका दिपक बमले अचेल खाजा बोकेर आउने गरेका छन् । ‘बाहिर खान साह्रै महँगो हुन थाल्यो । घर खर्च नै पुर्याउन धौ धौ भइराखेको छ’, घरमा श्रीमतिलाई भनेर खाजा बनाउन लगाएर ल्याउने गरेको भन्दै कीर्तिपुर नयाँ बजारमा कार्यालय जान माइक्रो चढ्न लागेका बमले भने । घरको गर्जो टार्न पैसा अपुग हुन थालेपछि उनले दैनिक चिया र चुरोटमा पनि पैसा घटाउन थालेका छन् ।
‘कति साह्रो महँगो भएको कपडा,’ पसलेले एउटा टि–शर्टकै १ हजार ८०० रुपयाँ भनेपछि जिब्रो टोक्दै बानेश्वरमा पसल बाहिर निस्किएकी सुस्मिता शर्माले भनिन् । ‘धेरै भएको थियो कपडा किनेकी थिइन्, कपडाको मूल्य सुनेर मन कटक्क खायो, जे छ त्यहीले चलाउनु पर्यो,’ नकिन्ने अठोटमा पुगेकी शर्मा भन्छिन् । कोरोना भाइरसको महामारी कारण महँगी यसै पनि बढेको थियो । पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गरेयता अवस्था झनै विकराल बनेको छ ।
इन्धनको मूल्य वृद्धि कहाली लाग्दो छ । यसको प्रभावले गाडीको भाडा बढ्ने र यसको प्रभाव सबैमा पोखिने अवस्था छ । ‘अब त बाइक पनि चढ्न नसकिने भयो, २०० रुपैयाँ तिर्दा एक लिटर मात्रै पेट्रोल आउँछ, यस्तै ताल हो भने बाइक घरमै थन्क्याएर हिड्नु पर्ने भइसक्यो,’ भद्रकालीमा बाइकमा तेल भर्न आएका शंखुमल बस्ने गणेश पौडेलले भने । छोटो गन्तव्यमा बरु हिडेर जाने अनि टाढै जान परेमात्र बाइक चलाउने वा धेरै ठाउँमा पुग्न नपरेको बेलामा बसकै प्रयोग गर्नु पर्ने सुरमा पौडेल छन् ।
‘मैले मासुको खपत नै घटाइसके,’ बानेश्वरको एउटा मासु पसलमा मासु किन्न छिरेकी लक्ष्मी बास्तोला भन्छिन् । हप्तामा दुई पटक मासु खाने गरेकी उनले अहिले एक पटकभन्दा धेरै मासु पकाउँदिनन् । त्यो पनि सानो छोराको रहरमा । रेष्टुराँमा कहिलेकाँही खानका लागि जाने गरेकोमा अब त त्यो पनि बन्द गरेकी छिन् । मम, चाउमिन जे खान मन लाग्छ घरमै सामान ल्याएर बनाउन थालेका छौं । बाहिर खानै नसक्ने भएको भन्दै उनले सुनाइन् ।
फलफूल पनि निकै कम गरिएको उनको भनाइ छ । ‘छोरा सानो छ, उसलाई अत्यावश्यक भएर मात्रै हो किन्ने, आफ्ना लागि त दुई/अढाई वर्ष भएसक्यो एक धरो किनेको छैन,’ एक जनाको तलबले परिवारको खर्च धान्न नसकेको भन्दै उनले बताइन् । ‘अन्डा पनि गोटाकै १७ पुगेको छ । खान सक्ने कुरै केही छैन,’ आम्दानी नबढेको तर महँगी भने बढिरहेको काठमाडौंकै एउटा निजी कम्पनीमा कार्यरत बास्तोलाको गनुासो छ । आर्थिक अभियानबाट