‘इन्धनको मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा’
काठमाडौं,असार ७। इन्धनमा पटकपटक गरिएको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको समेत अत्यधिक मूल्य बढेर निर्माण उद्योग नै ठप्प हुने अवस्था आउन लागेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । पछिल्लोपटक पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ मूल्यवृद्धिले निर्माण उद्योग थप आक्रान्त हुने महासंघले बताएको हो । इन्धनमा चर्को मूल्यवृद्धि भएकाले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना एवं अत्यावश्यक निर्माण परियोजना समेत बन्द हुने सम्भावना रहेको महासंघको भनाइ छ । निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीलाई कुनै राहत दिन नसक्नुले निर्माण उद्योगको विकासप्रति सरकारको उदासीनता पुष्टि भएको महासंघको ठहर छ ।
महासंघका अनुसार अप्रत्याशित रूपमा निरन्तर भइरहेको मूल्यवृद्धिका कारण घर जमीन तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न देशभरका हजारौं निर्माण व्यवसायी, तिनका परिवार र तिनमा आश्रित लाखौं श्रमिक मारमा परेका छन् । ‘यसअघिकै मूल्यवृद्धिका कारण निर्माण उद्योगमा देखिएको विकराल समस्या समाधानका लागि सार्वजनिक खरीद ऐन तथा नियमावली बमोजिम मूल्य समायोजन निर्देशिका जारी गर्ने विषयमा महासंघ र सरोकारवाला निकायबीच वार्ता भइरहेको समयमा हठात् भएको अप्रत्यशित एवं अत्यधिक मूल्यवृद्धिले महासंघ स्तब्ध भएको छ,’ महासंघका महासचिव रोशन दाहालद्वारा सोमवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
पेट्रोलियम पदार्थमा लिइने कर कटौती नगरी तथा चुहावटको समस्या समाधान नगरेर अन्तरराष्ट्रिय मूल्यलाई देखाउँदै भइरहेको मूल्यवृद्धिले देशको समग्र विकासमा नकारात्मक असर पार्ने महासंघले बताएको छ । मुलुकमा व्याप्त अराजकताले निर्माण गतिविधि प्रभावित भएको र राज्य संयन्त्रहरूमा भ्रष्टाचार व्याप्त रहेकाले मुलुकले सुशासन महसूस गर्न नपाएको महासंघको भनाइ छ ।
यसैबीच बीमा निर्देशिका–२०७८ ले गरेको व्यवस्थाबाट पूर्वाधारको लागत बढाएर बीमा कम्पनीलाई पोस्ने काम सरकारले गरेको महासंघको आरोप छ । उक्त निर्देशिकामा टेरिफलाई ननटेरिफ नगरे महासंघ बीमा समितिविरुद्ध पुन: कडा आन्दोलनमा जान बाध्य हुने बताइएको छ । आर्थिक अभियानबाट