ट्याक्टरको माग ४ हजार, आयात १२ हजार



काठमाडौं,असार ६ । नेपाल ट्याक्टरको डम्पिङ साइट बन्दै गएको छ । वार्षिक मागभन्दा दुई गुणा बढी र न्यून गुणस्तरको आयात बढेसँगै नेपाल ट्याक्टरको डम्पिङ साइट बन्ने खतरा बढेको हो । नेपाल कृषि मेशिनरी व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा वार्षिक करीब ४ हजार थान ट्याक्टरको माग छ । आयात यसको तीन गुणा छ । नेपालमा वार्षिक १२ हजार थान ट्याक्टर आयात हुने गरेको छ । व्यापारीले फाइदाका निम्ति आवश्यकभन्दा बढी ट्याक्टर आयात गर्दा गुणस्तरहीनदेखि नेपालमा सामान नै नपाइने खालका पनि भित्रिइरहेको बताइएको छ ।

संघका उपाध्यक्ष उमेशनारायण मानन्धर भन्छन्, ‘विदेशबाट भित्रिने ट्याक्टरबाट स्वदेशी व्यापारी र कृषक ठगिइरहेका छन् । मुलुक ट्याक्टरको डम्पिङ साइट बन्दै छ ।’ उनका अनुसार नेपालमा आयात हुने १२ हजार ट्याक्टरमध्ये ४ हजारमात्रै माग छ । ४ हजार ट्याक्टर किसानलाई उधारोमा दिएर वा अनेक बहानामा ‘फोर्ससेल’ गरिन्छ । बाँकी रहेका ४ हजार व्यापारीसँगै स्टक बस्छ । खुला आयातका कारण करीब ८ हजार अनावश्यक ट्याक्टरमा लगानी भइरहेको उनले बताए ।

आर्थिक वर्ष २०५८/५९ सम्म ट्याक्टर सीधै नेपाल भित्र्याउनेभन्दा छिमेकी भारतमै स्टक गरेर राख्ने र किसानलाई आवश्यक परेमा मात्रै स्थानीय निकायको स्वीकृतिमा कृषककै नाममा आयात गर्ने चलन थियो । अहिले त्यस्तो व्यवस्था नहुँदा आयातकर्ताले मनलाग्दी आयात गरिरहेको संघको भनाइ छ । नेपालको मागअनुसार मात्रै ट्याक्टर आयात भए यसबापत हरेक वर्ष नेपालबाट बाहिरिने ठूलो रकम जोगिने व्यवसायी बताउँछन् । नेपालमा भारत, चीनलगायत यूरोपेली मुलुकबाट समेत ट्याक्टर आयात हुने गरेको छ ।

सरकारसँग ट्याक्टरको गुणस्तर परीक्षण गर्ने मापदण्ड नहुँदा खुला रूपमा न्यून गुणस्तरका ट्याक्टर भित्रिरहेका छन् । यसले समस्या उत्पन्न गराएको कृषि मेशिनरी व्यवसायी खोजराज कटुवाल बताउँछन् । उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले पनि यस्तो व्यवसायमा बढी ऋण दिन रुचाउने र विदेशी कम्पनीले पनि आफ्ना ब्रान्ड प्रवद्र्धनका लागि छूटको प्रलोभनमा पारेर व्यवसायीलाई आकर्षित गर्ने भएकाले आवश्यकताभन्दा बढी आयात हुने गरेको उनको भनाइ छ । ‘आयातकर्ताले बजारको अवस्था के छ र हाम्रो माग कति हो भन्ने अध्ययन नगरी आयात गर्दा नेपाल ट्याक्टरको डम्पिङसाइट बन्न सक्ने खतरा छ,’ उनले भने । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्