झापाका तत्कालिन नासु भण्डारीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं,असार ४;। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नायव सुब्बा तहमा कार्यरत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा आयोगले शुक्रवार भ्रष्टाचार मुद्दा दायर गरेको हो । भण्डारीमाथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्तिआर्जनको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
भण्डारीले २०७३ साल असोज २१ गतेदेखि २०७७ साल साउन १ गतेसम्म मात्रै सरकारी सेवामा थिए । नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको जागिरको अवधिमा २६ लाख ६१ हजार रुपैयाँ आर्जन गरेका थिए ।
तर उनको खर्च र लगानी (जग्गा खरीद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरीद तथा बैंकमा जम्मा रकम) ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ ।
भण्डारीले यो अवधिमा पारिश्रमिक, श्रीमतीको तलबबाट बचत, सञ्चय कोषबाट लिएको ऋण र जागिर शुरु हुनुभन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानूनसम्मत आर्जन गरेको दाबी गरेका थिए ।
तर अख्तियारले त्यो दावी स्वीकार नगरेर ६ करोड २४ लाख ६५ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको निष्कर्ष निकालेको छ ।
विशेष, अदालतमा दायर मुद्दामा अख्तियारले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ । उनकै साथमा रहेको सम्पत्तितर्फ ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार उनको एकल स्वामित्वमा रहेको कम्पनीहरुबाट जफत गर्न माग गरेको छ ।