प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित



काठमाडौं,असार ३ । नेकपा एमालेका सांसदहरूको बहिष्कारका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । बिहीवार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको ‘विनियोजन विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेश गर्दा एमाले सांसदहरूले सदन बहिष्कार गरे । उनीहरू विधेयक पारित गर्नेबेला बाहिरिएका थिए । बैठकमा सांसदहरूले अर्थ मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले कर, राजस्व र भन्सार दर परिवर्तन प्रक्रियाअनुसार नै गरिएको बताए । उनका अनुसार सचिवहरू र विभागीय प्रमुखको समितिले नै राजस्वका दर तय गरेको हो ।

‘राजस्वका दरहरू परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रक्रिया छन् । प्रक्रियाका कुरा अस्ति पनि बताएको थिएँ । त्यसमा सम्बन्धित विभागीय प्रमुख र सचिवसहितको समितिले बसेर गर्ने प्रचलन छ । त्यसअनुसार भएका दररेटप्रति म पूर्ण जिम्मेवार छु । जवाफदेही छु । त्यसमा कतै राष्ट्रघात भएको छ भने त्यसको पूर्ण जिम्मेवारी लिन तयार छु,’ अर्थमन्त्री शर्माले भने ।

प्रतिनिधिसभा बैठकले विनियोजन विधेयकमाथि परेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत गरेको छ । यसैबीच, संसद्मा आर्थिक विधेयक २०७९ माथि असार ६ गते देखि दफावार छलफल हुने भएको छ ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले ‘आर्थिक विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव स्वीकृत भएपछि उक्त विधेयकमाथि ६ असार (सोमवार)देखि दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले मिति तोकेका हुन् । बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव समेत बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक शुक्रवार दिउँसो १ बजे बस्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्