असारमा पनि निक्षेपको ब्याजदर नबढ्ने



काठमाडौं,जेठ ३१ । बैंकहरूले असार महीनामा पनि निक्षेपको ब्याजदरमा कायम गरिएको अधिकतम सीमा नबढाउने भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघका अनुुुसार असारमा जेठमा कायम भएकै ब्याजदर लागू हुनेछ । वाणिज्य बैंकहरूले एक वर्षको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ११ दशमलव शून्य ३ प्रतिशत र संस्थागततर्फ १० दशमलव शून्य ३ प्रतिशत ब्याजदर दिने भद्र सहमति गरेका छन् ।

राष्ट्र बैंकको व्यवस्था अनुसार रेमिट्यान्सबाट प्राप्त रकमको निक्षेपमा थप एक प्रतिशत विन्दु अर्थात् १२ दशमलव शून्य ३ प्रतिशत ब्याजदर रहनेछ ।

चालू आवको शुरुआतमै कर्जा विस्तारमा आक्रामक भएका बैंकहरूमा निक्षेप बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव हुन थालेको हो । तरलता अभावसँगै ब्याजदर बढाएर निक्षेप तान्ने प्रतिस्पर्धा हुन थालेपछि यसमा राष्ट्र बैंकले हस्तक्षेप गरेको हो । कात्तिक २ गते बैंकहरूलाई ब्याजदर नबढाउन मौखिक निर्देशन दिएको राष्ट्र बैंकले त्यसको भोलिपल्ट निर्देशन जारी गर्दै केन्द्रीय बैंकले प्रत्येक महीना ब्याजदर परिवर्तन गर्दा १० प्रतिशतले मात्र घटबढ गर्न पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकका सीईओहरूको संगठन डेभलपमेन्ट बैंकर्स एशोशिएशन र वित्त कम्पनीका सीईओहरूको संगठन नेपाल वित्त कम्पनी संघले भद्र सहमति गरेर ब्याजदरमा प्रतिस्पर्धा गरेका छैनन् । राष्ट्र बैंकको निर्देशन अनुसार फागुनमा १० प्रतिशत वृद्धि गरे पनि नयाँ निक्षेप थप नभएपछि चैत, वैशाख, जेठमा भने ब्याजदर नबढाउने भद्र सहमति कार्यान्वयन गरिरहेका छन् । बैंकहरूले निक्षेपको ब्याजदरमा सीमा तोके पनि बैंकमा कर्जाको ब्याजदर भने महँगो हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको औसत आधारदर २०७८ वैशाखमा ६ दशमलव ८३ प्रतिशत रहेकोमा २०७९ वैशाखमा ९ दशमलव ३० प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्