किन हुन सकिएन कपडामा आत्मनिर्भर ?
वीरगञ्ज,जेठ ३० । कपडा उद्योगलाई उद्योगहरूको जननी मानिन्छ । नेपालमा पनि यो उद्योगको इतिहास लामो छ । तर, आन्तरिक बजार राम्रो हुँदाहुँदै पनि नेपालमा कपडा उद्योग फस्टाउन सकेको देखिँदैन । उल्टै भएका उद्योग पनि धमाधम बन्द भइरहेका छन् ।
कारण के त ? जवाफमा उद्योगीहरू भन्छन्– कपडा उद्योगप्रति सरकारी नीति ठिक भएन । ‘सरकारले एकातिर कपडा उद्योगले पाएका सहुलियतहरू क्रमशः खोस्दै लगेको छ, अर्कातिर भारतबाट अनियन्त्रित रूपमा भित्रिने कपडाले स्वदेशी बजारमा कब्जा जमाएको छ,’ उनीहरू भन्छन्, ‘कपडा उद्योगहरू कोमामा जाने अवस्था आइसकेको छ ।’
उद्योगी पीताम्बरकुमार मुनका स्वदेशमा वर्षेनि खपत हुने कपडाको सानो अंशमात्र स्वदेशी उद्योगले उत्पादन गर्ने बताउँछन् । ‘बाँकी माग आयातित कपडाले धानेको छ । औपचारिक माध्यमबाट भित्रिनेभन्दा बढी भारतसँगको खुला सिमानाबाट अवैध तरीकाले आउँछ,’ वीरगञ्जको क्राउन र कोहिनुर टेक्सटाइलका सञ्चालक मुनकाले भने ।
भारतमा सरकारले कपडा उद्योगलाई उपकरणमा ५० प्रतिशतसम्म अनुदान दिने उद्योगी बताउँछन् । ‘त्यहाँ कपडा उद्योगलाई प्रविधि र ऊर्जामा ठूलो सहुलियत दिइएको छ । हामीकहाँ विद्युत्मा दिइएको सहुलियत पनि खोसियो,’ नोबेल टेक्सटाइलका प्रबन्ध सञ्चालक विनय शाहले गुनासो गरे ।
सरकारले केही वर्षअघिसम्म कपडा उद्योगीलाई कपडाको विक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने गरेको थियो । उद्योगीले २०७० सालदेखि शतप्रतिशतसम्म यस्तो छूट उपभोग गरेका थिए ।
सरकारले २ वर्षअघि उक्त सहुलियत हटायो । उद्योगी आन्दोलित भएपछि सरकारले विद्युत् महसुलमा ५० प्रतिशत छूट दिने निर्णय गरेको थियो । १ वर्ष त उद्यमीले विद्युत् महसुलमा सहुलियत पनि पाए । गतवर्षदेखि यो प्रोत्साहन पनि खोसिएको उद्योगी रमेश गाडिया बताउँछन् ।
मन्त्रिपरिषद्को निर्णयलाई गतवर्षको बजेटमा नपारिएको भन्दै नेपाल विद्युत् प्राधिकरणले दिइसकेको अनुदानसमेत फिर्ता मागेको थियो । ‘यतिसम्म कि, उद्योगीले उपयोग गरिसकेको छूटसमेत प्राधिकरणले फिर्ता माग्यो,’ गाडियाले भने ।
सरकारले कपडा उद्योगीलाई दिएको भ्याट सहुलियत हटाएकै समयमा भारतले कपडामा वस्तु तथा सेवा कर (जीएसटी) ५ प्रतिशतमा झारेको थियो । यस्तो करको अन्तर ८ प्रतिशत भएपछि नेपालको बजारमा भारतीय कपडा भित्रिने क्रम तीव्र गतिमा बढेको नेपाल कपडा उद्योग संघका उपाध्यक्ष जितेन्द्रकुमार लोहियाले बताए ।
विराटनगर क्षेत्रमा १४ उद्योगमध्ये १३ ओटा बन्द भइसकेको लोहियाले बताए । उनले सञ्चालन गरेको प्रगति टेक्सटाइल भने जसोतसो चलिरहेको छ । ‘एक जना नेपालीले कपडा र कपडाजन्य उत्पादनमा वर्षमा गर्ने खर्चको सानो अंशमात्र स्वदेशी उत्पादन र वैधानिक आयातको कपडामा जान्छ, बाँकी अवैध आयातको कपडामा,’ उपाध्यक्ष लोहियाले दाबी गरे । आर्थिक अभियानबाट