बेलायतसँग आगामी साता श्रम सम्झौता
काठमाडौं,जेठ् २९ । नेपाल र बेलायतबीच आगामी साता श्रम सम्झौता हुने भएको छ । श्रम सम्झौताको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरिसकेकाले आगामी साता हस्ताक्षर गर्न लागिएको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच शुक्रवार भएको शिष्टाचार भेटवार्तामा श्रम समझदारीको तयारीबारे छलफल भएको छ ।
मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि रहिआएको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो । श्रम आप्रवासनको क्षेत्रमा बेलायतसँगको सम्बन्ध गौरवपूर्ण रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले नेपालबाट तेस्रो मुलुकमा रोजगारीका लागि जाने प्रचलन बेलायती सेनामा भर्ना प्रक्रियाबाटै शुरू भएको बताए ।
नेपाल र बेलायतबीच हुने श्रम समझदारीपत्रको तयारीका लागि दुवै देशका तर्फबाट सहभागी प्रतिनिधिको संयुक्त प्रयासबाट सुरक्षा क्षेत्रभन्दा बाहिर पहिलो पटक नेपालीले बेलायतमा रोजगारीको अवसर प्राप्त गर्न लागेको मन्त्री श्रेष्ठको भनाइ थियो । बेलायतमा रोजगारीका लागि प्रारम्भमा २ हजार नर्स पठाउन तयार रहेको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृत्तिको अवसरका साथै नर्सिङ कलेजहरूको क्षमता अभिवृद्धिमा सघाउन बेलायत सरकारलाई आग्रह गरे ।
मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको तनहुँमा कम्तीमा १०० शय्याको नर्सिङ कलेजसहितको अस्पताल निर्माण गर्ने योजनामा बेलायत सरकारबाट सहयोगको अपेक्षा गरिएको बताएका थिए । नेपालको स्वास्थ्य शिक्षाको गुणस्तर विश्वस्तरको रहेको चर्चा गर्दै उनले नर्सबाहेक डाक्टर, फर्मासिष्ट र ल्याब टेक्निसियनहरूलाई पनि बेलायतमा रोजगारी प्राप्त हुने वातावरण मिलाउन राजदूत पोलिटलाई आग्रह गरे । भेटवार्तामा नेपाली श्रमिकलाई बेलायतमा रोजगारीका लागि निर्माण, ड्राइभिङ, कृषि, होटल व्यवसाय जस्ता अन्य क्षेत्रहरूमा हुने सम्भावनाबारे पनि छलफल भएको थियो । यसअघि नयाँ रोजगार गन्तव्यको खोजीको क्रममा उनले बेलायतसँग श्रम सम्बन्ध स्थापनाका लागि पहल गरेका थिए ।
बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’, ‘नेशनल हेल्थ सर्भिस’, काठमाडौंस्थित बेलायती दूतावास र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा तयार भएको हो । रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन । वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने क्रममा आफूले आकर्षक गन्तव्यको खोजी गरिरहेको मन्त्री श्रेष्ठले बताए ।आर्थिक अभियानबाट