महिला उद्यमीद्वारा उद्योग मन्त्रालयमा सुझाव पेश



काठमाडौं,जेठ २७। नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको महिला उद्यमी विकास समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सुझाव पेश गरेको छ । समितिले महिला उद्यमी व्यावसायिक शीप, क्षमता, वित्तीय साक्षरता प्रवर्द्धनका लागि नीतिगत तथा प्रक्रियागत सुधारका सम्बन्धमा लिखित सुझाव पेश गरेको हो ।

मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई बुधवार उक्त सुुझाव बुझाइएको महासंघले जानकारी दिएको छ । सातओटै प्रदेशका महिला उद्यमी, व्यवसायी र महिला उद्यमी समितिबाट आएका सुझावलाई मन्त्रालयमा पेश गरिएको महासंघको भनाइ छ । पेश गरिएका सुुझावमा सहुलियतपूर्ण कर्जा, सूचनाको पहुँच, पुनर्कर्जा, परियोजना कर्जा र वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गर्नुपर्ने सुझाव छन् ।

त्यस्तै दर्ता नगरी सञ्चालित लघु, घरेलु तथा साना उद्योगलाई दर्ता प्रक्रियामा लैजाने, वस्तु बजारीकरण लगायत विषय सुझावमा समेटिएका छन् । सचिव पोखरेलले महिला उद्यमीका लागि व्यावसायिक महत्त्वका कार्यक्रम ल्याउने, व्यापार मेलामा महिला उद्यमीलाई प्राथमिकता दिने, वित्तीय साक्षरता लगायत कार्यक्रममा मन्त्रालयले सहकार्य गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्