सीजी मोटर्सद्वारा निटा ब्रान्डको विद्युतीय कार सार्वजनिक



काठमाडौं,जेठ २६ । चौधरी ग्रूप अन्तर्गतको सीजी मोटर्स  विद्युतीय सवारीसाधनको व्यवसायमा प्रवेश गरेको छ । १५० वर्षभन्दा लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न रहँदै आएको चौधरी ग्रूपले विद्युतीय सवारीको व्यवसायमा समेत प्रवेश गरेको हो ।

सोही अनुसार निटा ब्रान्डको विद्युतीय कार नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले बताएको छ । निटा चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको ब्राण्ड हो । पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्‍याउन आफूहरू विद्युतीय सवारी प्रवर्द्धनमा जुटेको सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए ।

‘सरकारले नेपालको व्यापार घाटाको मुख्य कारक रहेको सवारीसाधनमा प्रयोग हुने पेट्रोलियम पदार्थको खपत सन् २०५० सम्ममा आधामा झार्ने योजना बनाएको छ,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘सरकारको यही योजनालाई सघाउन हामी निजी र व्यावसायिक रूपमा प्रयोग हुने विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा लागेका हौं ।’

सीजी मोटर्सले होजोन अटोका क्रसओभर कार नेपाली बजारमा ल्याएको हो । अन्य अधिकांश सवारी उत्पादकले आईसी (इन्टरनल कम्बशन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भए पनि निटा भने पूर्णरूपमा विद्युतीय सवारीकै रूपमा डिजाइन गरिएको कार भएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्