निक्षेप बढे पनि कर्जा घटाउँदै बैंक



काठमाडौं,जेठ २५। असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत राख्नुपर्ने दबाबमा रहेका बैंकहरू निक्षेप वृद्धि भए पनि कर्जा घटाउने रणनीतिमा लागेका छन् ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह खुम्चिएको छ । जेठ तेस्रो साता वाणिज्य बैंकहरूमा ७ अर्ब रुपैयाँ निक्षेप बढे पनि कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले घटेको छ ।

स्थानीय चुनावका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप जेठ लागेसँगै बैंकमा फर्किन थालेको छ । यस कारण जेठ २० गतेसम्ममा निक्षेप २० अर्ब रुपैयाँले वृद्धि भएको छ ।

जेठ पहिलो साता ७ अर्ब र दोस्रो साता ६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएकोमा तेस्रो सातामा पनि ७ अर्ब रुपैयाँ बढेको छ । पछिल्लो साता बैंकहरूको विदेशी मुद्राको निक्षेप पनि २ अर्ब रुपैयाँले वृद्धि भएको छ ।

निक्षेप बढे पनि बैंकहरूले कर्जा प्रवाह घटाउँदै जाने रणनीति लिएका छन् । पछिल्लो समय बैंकहरूले नयाँ कर्जा प्रवाह बन्द गर्दै असुलीमा मात्र केन्द्रित भएका छन् । संघका अनुसार जेठ दोस्रो साताको तुलनामा तेस्रो सातामा बैंकहरूको कर्जा प्रवाह २ अर्ब रुपैयाँले घटेको छ ।

तरलता अभावसँगै बैंकहरूको सीडी रेसियो राष्ट्र बैंकले तोकेको भन्दा बढी भएपछि बैंकहरूले कर्जा प्रवाह ठप्पप्रायः पारेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीडी रेसियो ९० प्रतिशतको सीमाभित्र ल्याउन असारसम्मको समयसीमा तोकेको छ ।

संघका अनुसार जेठ २० गतेसम्ममा वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ९० दशमलव ३२ प्रतिशत छ ।

बैंकर्स संघ र फिन्टेलेक्टबीच सम्झौता
नेपाल बैंकर्स संघ र फिन्टेलेक्ट एडभाइजरी सर्भिसेजबीच सम्पत्ति शुद्धीकरण निवारण र वित्तीय अपराध अनुपालनका विषयमा विशेषज्ञ सेवा प्रदान गर्नेबारे सम्झौता भएको छ । मंगलवार भएको सम्झौतामा संघका अध्यक्ष अनिलकुमार उपाध्याय र फिन्टेलेक्टका प्रबन्ध निर्देशक शिरीष पाठकले हस्ताक्षर गरे । सम्झौताअनुसार फिन्टेलेक्टले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाली बैंकरहरूका लागि वेबिनार र कार्यशाला सञ्चालन गर्नेछ । यसैगरी दुवै संस्थाको सहकार्यमा नीतिगत अनुसन्धान गरी नियामकलाई आवश्यक सुझावसमेत दिनेछ ।

‘फिन्टेलेक्टले आफ्नो उच्च ज्ञान स्रोत र विश्वव्यापी सल्लाहकारमार्फत नेपालको बैंकिङ उद्योगलाई सम्पत्ति शुद्धीकरण र आतंकवादमा वित्तीय लगानीविरुद्ध प्रभावकारी र प्रभावकारी रूपमा लड्न मद्दत गर्नेछ,’ प्रबन्ध निर्देशक पाठकले भने ।

‘बैंकिङ क्षेत्रमा विशेषगरी सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा कर्मचारीको ज्ञान, शीप, दक्षता र उत्पादकत्व अभिवृद्धि गर्न यो सहकार्यले मद्दत पुर्‍ याउनेछ,’ संघका अध्यक्ष उपाध्यायले भने ।

प्रतिक्रिया दिनुहोस्