अम्बे स्टिललाई थप १७ दशमलव ५ मेगावाट विद्युत् उपलब्ध



काठमाडौं,जेठ २३ । नेपाल विद्युत् प्राधिकरणले अम्बे स्टिललाई १७ दशमलव ५ मेगावाट बिजुली उपलब्ध गराएको छ । यसअघि सो उद्योगले ८ मेगावाट बिजुली लिँदै आएको थियो । प्राधिकरणको कोहलपुर वितरण केन्द्रले बाँकेमा रहेको उक्त उद्योगलाई आइतवारदेखि थप विद्युत् उपलब्ध गराएको हो ।

कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार उद्योगले कुल ३५ मेगावाट बिजुली माग गरेकोमा आइतवारदेखि २५ दशमलव ५ मेगावाट उपलब्ध गराइएको छ । देशभित्रै गुणस्तरीय छड तथा डण्डी उत्पादन गर्ने लक्ष्यसहित अम्बे स्टिलले बाँकेमा कारखाना स्थापना गरेको हो ।

‘झन्डै डेढ वर्ष पहिलेदेखि उद्योगले हामीसँग ३५ एमभीए क्षमतामा बिजुली माग गर्दै आएको थियो, आवश्यक तयारी गरेर थप बिजुली उपलब्ध गराएका हौं,’ रेग्मीले भने, ‘बाँकी रहेको ९ दशमलव ५ मेगावाट बिजुली पनि एक साताभित्र उपलब्ध गराउँछौं ।’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही समय पहिले उद्योग परिसरको निरीक्षण गर्दै उद्योगलाई मागअनुसार बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । तुलनात्मक रूपमा प्राधिकरणले पश्चिम नेपालमा स्थापना हुने उद्योगलाई सहज रूपमा बिजुली उपलब्ध गराउन प्रयास गरे पनि भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनका दुई टावर निर्माणमा भएको अवरोधका कारण सम्भव हुन सकेको छैन ।

हाल चमेलिया कोरिडोरमा उत्पादित बिजुली र टनकपुर नाकाबाट आयात भइरहेको बिजुली व्यवस्थापन गरेर पश्चिम नेपालमा वितरण गरिएको छ । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माणमा नवलपरासीको दुम्कीबासमा समस्या छ ।

स्थानीयवासीले प्रसारण लाइनको मार्ग परिवर्तन गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका कारण पूर्वको बिजुली पश्चिम जान सकेको छैन । हाल बर्दघाट आसपासमा १३२ केभी क्षमताको प्रसारण लाइन मात्र सञ्चालनमा छ । त्यसले १०० मेगावाट बिजुली मात्र प्रवाह गर्न सक्छ ।

१२ वर्षभन्दा लामो समय भए पनि सो आयोजनाका सम्बन्धमा स्थानीयवासीले राखेका माग सम्बोधन हुन नसक्नु र सर्वोच्च अदालतले समेत फैसला नगरिदिँदा राष्ट्रियरूपमै विद्युत् प्रवाहमा समस्या भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्