कम गुणस्तरको बिजुलीले उद्योगलाई सकस
वीरगञ्ज,जेठ १३। मुख्य औद्योगिक कोरिडोर बारा–पर्साका उद्योगहरू कम गुणस्तरीय बिजुलीको मारमा परेका छन् । केही वर्ष लोडशेडिङबाट मुक्ति पाएका यहाँका उद्योग अहिले अघोषित लोडशेडिङ र ट्रिपिङको समस्या झेलिरहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले बारा र पर्साका उद्योगमा लोडशेडिङ नभएको बताएको छ । तर, विनासूचना घण्टौं विद्युत् आपूर्ति बन्द हुने गरेको उद्योगी बताउँछन् । पटकपटक हुने ट्रिपिङका कारण उद्योगको कच्चा पदार्थ खेर जाने र गुणस्तरमा समस्या देखिएको उद्योगीहरूको गुनासो छ ।
कोरिडोरका फलाम, कपडा, औषधि र भट्टीमा आधारित उद्योेगहरू बढी प्रभावित भएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए । ‘उद्योग चलिरहेको बेला अचानक बत्ती जाँदा प्रोसेसमा रहेको कच्चा पदार्थ खेर जाने र उत्पादनको गुणस्तरसमेत घट्ने हुन्छ । बारम्बार विद्युत् जाँदा उद्योगका उपकरण बिग्रिनुका साथै विद्युत् पनि बढी खर्च हुन्छ,’ अर्का एक उद्योगीले भने ।
वीरगञ्ज–परवानीपुर प्रसारण लाइनको क्षमता कमजोर भएकाले विद्युत्को माग बढी भएका बेला ट्रिपिङ बढी भइरहेको प्राधिकरणले बताएको छ ।
प्रसारण लाइनको तारको क्षमताभन्दा बढी माग भएकाले ट्रिपिङको समस्या बढेको प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जीतेन्द्रकुमार झाले बताए ।
बारा–पर्सा कोरिडोरका उद्योगमा दिनहुँ झन्डै ८/१० पटक ट्रिपिङ भइरहेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघले तत्काल समस्या समाधान गर्न प्राधिकरणको ध्यानाकर्षण गराएको छ । संघले आइतवार विज्ञप्ति निकालेर उद्योग प्रतिष्ठानमा गुणस्तरीय विद्युत् आपूर्तिको माग गरेको छ । एक समय १२ घण्टासम्मको लोडशेडिङ खेपेका उद्योगले केही समय राहतको श्वास फेरे पनि पुन: संकटतर्फ धकेलिएको संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले बताए ।
‘केही वर्षदेखि विद्युत्को सहज उपलब्धताका कारण उद्योगहरू क्षमताअनुसार सञ्चालन भइरहेका थिए । केही दिनदेखि अत्यधिक ट्रिपिङले कच्चा पदार्थ नोक्सानी र उत्पादनको गुणस्तर बिग्रिन थालेको छ,’ गुप्ताले भने ।
परवानीपुर–वीरगञ्ज र औद्योगिक प्रतिष्ठानमा आपूर्ति दिइएको प्रसारण लाइन स्तरोन्नतिको काम भइरहेको प्राधिकरणका झाको भनाइ छ । सामान्यभन्दा गर्मी बढी भएको दिनमा ट्रिपिङ बढी भइरहेको पनि उनले बताए । आर्थिक अभियानबाट