वीरगञ्ज भन्सारको राजस्व १ खर्ब ७० अर्ब



गाडी आयातमा कडाइको असर राजस्वमा पनि देखियो

वीरगञ्ज,जेठ २३ । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को १० महीनामा १ खर्ब ७० अर्ब रुपैयाँ राजस्व उठाएको छ । आयातनिर्यात कारोबारका हिसाबले सबैभन्दा ठूलो वीरगञ्ज भन्सारले उठाएको यो रकम निर्धारित लक्ष्यभन्दा बढी हो ।

चालू आवको साउनदेखि वैशाखसम्मका लागि यो भन्सारले १ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएकोमा लक्ष्यको १०१ प्रतिशत राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

आयाततर्फको भन्सार महशुल लक्ष्यभन्दा कम उठे पनि मूल्यअभिवृद्धि कर र पूर्वाधार कर बढी उठेकाले समग्र राजस्वको लक्ष्य भेट्टाएको भन्सारले बताएको छ । भन्सार महशुल ६१ अर्ब ८१ करोड रुपैयाँ संकलन गरेको कार्यालयले ६८ अर्ब ७४ करोड रुपैयाँ मूल्यअभिवृद्धि कर र १३ अर्ब ७१ करोड पूर्वाधार कर उठाएको छ ।

सरकारले इन्धनको आयातमा पूर्वाधार कर असुल्दै आएको छ । गाडी आयातमा गरिएको कडाइको असर भन्सारले उठाउने अन्त:शुल्कमा देखिएको छ । १० महीनामा १७ अर्ब ३१ करोड रुपैयाँ अन्त:शुल्क उठेको छ । यो लक्ष्यको तुलनामा ३० प्रतिशत कम भएको पौडेलले जानकारी दिए ।

गाडी आयात अन्त:शुल्कको मुख्य स्रोत भएको प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ । वीरगञ्ज भन्सारबाट भित्रिने मुख्य वस्तु इन्धन, गाडी र औद्योगिक कच्चापदार्थ हुन् । निकासीतर्फ अहिलेसम्म प्रशोधित खाने तेल, कपडा, धागो, कोक, स्प्राइट, पिनालगायतका उत्पादन रहेको भन्सारको तथ्यांकले देखाउँछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्