जुझारु नेपाल ओमानसँग निराश
काठमाडौं,जेठ २१ । एएफसी एसियन कप छनौटका लागि थप अभ्यास र तयारी गर्न कतार पुगेको नेपाली फुटबल टोलीले दोहारमा शुक्रबार तेस्रो अभ्यास म्याच खेल्यो । सुहिम बिन हमाद स्टेडियममा भएको खेलमा नेपालले तुलनात्मक रुपमा बलियो ओमानसँग २–० ले पराजित हुन पुग्यो ।
जुझारु प्रदर्शन गरेको नेपालले पहिलो हाफको अन्तिमतिर तथा दोस्रो हाफको अन्तिमतिर गोल खान पुगेको थियो । ओमानका लागि पहिलो हाफको इन्जुरी समयमा ओमार अल– मलिकीले पहिलो गोल गरे भने दोस्रो हाफमा इसाम अल सुभीले दोस्रो गोल गर्दै ओमानी टोलीको जित पक्का गरे ।
अधिकांश युवा खेलाडीका साथ कतार पुगेको नेपाल फिफा वरियताको १६८औं स्थानमा छ भने ओमान ७५औं स्थानमा छ । ओमानसँग खेल्नु अघि नेपालले दुई अभ्यास म्याच खेलेको थियो । जसमा नेपालले टिमोर लेस्टेसँग २–२ र श्रीलंकासँग १–१ को बराबरी नतिजा निकालेको थियो ।
एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले जुन ८ तारीखका दिन जोर्डनसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै ११ जुनका लागि आयोजक कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ ।