हलो र धानको बीउसहित सरकारसँग मल खोज्दै किसान सडकमा



काठमडौं,जेठ २१। नेपाल क्रान्तिकारी किसान संघले सरकारलाई तुरुन्त रासायनिक मल उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको छ । 

किसनहरुले हलो र धानको बीउसहित सरकारसँग मल खोज्दै जुलुस निकालेका हुन् । उनीहरुले रत्नपार्कमा जम्मा भएर बागबजार हुँदै पुतलीसडक, प्रदर्शनी मार्ग, शहिद गेट, न्यूरोड, इन्द्रचोक, बांगेमुडा, असन र भोटाहिटीमा जुलुस प्रदर्शन गरेका हुन् । 

देशभर रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा शुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । 

केही सहकारीले बेलैमा ल्याएको मल विक्री शुुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ । पैसा तिरेर पनि मल नपाउँदा किसान सरकारसँग आक्रोशित हुँदै आएका छन् । 

कृषि सामग्री कम्पनीले समयमै मल ल्याउन नसक्दा यस वर्ष पनि किसानले मलको हाहाकार खेप्नुपरेको हो । असार लाग्न लागिसक्दा पनि मल नपाउँदा उत्पादनमा ह्रास हुने भन्दै किसान चिन्तित हुन थालेका छन् ।  आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्