गुल्मी छत्रकोटका बिद्यालयमा आइतबार पनि पठनपाठन हुने



गुल्मी,जेठ १९ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्ररहेका सबै विद्यालय संचालन गर्ने भएको छ । गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा आइतबार भौतिक उपस्थितिमा पठनपाठन संचालन हुने छत्रकोट गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा बसेको जनप्रतिनिधि कर्मचारी र प्रधानाध्यापकहरुको बैठकले उक्त निर्णय गरेको हो । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड– १९ का कारण लामो समय अस्तव्यस्त रहेको पठनपाठनलाई पुरानै लयमा फर्काउने उदेश्यले आइतबार बिधालय खोल्ने निर्णय गरिएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

विद्यार्थी र अभिभावकको मनसाय बुझेर आउँदा आइतबारदेखि नियमित बिद्यालय संचालन हुने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिए । दुई दिन बिदा हुँदा विद्यार्थीको पढाईमा असर पर्ने र उनीहरु बिग्रने सम्भावना भएकाले पहिले जस्तै आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्